११ कार्तिक २०८१, आइतबार

नेप्सेमा ३० अंकको करेक्सन, कारोबार रकम भने ८ अर्ब माथि

प्रकाशित मिति :  12 January, 2022 4:07 pm


काठमाडौं । पुसको दोस्रो साता पछि निरन्तर बढ्दै गएको सेयरबजार आज भने दोहोरो अंकले घटेको छ । बजार दोहोरो अंकले घटेपनि कारोबार रकममा भने उत्साहजनक वृद्धि भएको छ ।

अबको सेयर बजारको यात्रा उकालो नै रहेको र आजको गिरावट भनेको नाफा बुक गर्दा आएको सामान्य करेक्सन मात्रै रहेको लगानीकर्ता बताउँछन् । कोरोना माहामारीको तेस्रो लहर बढ्दै गर्दा सरकारले स्मार्ट लकडाउन पनि सुरु गरिसकेको छ । जसको कारण अब विस्तारै आर्थिक क्षेत्रका अन्य ढोकाहरु बन्द हुने सम्भावना बढेको र सबैको नजर सेयर बजारतिर लागेको हुनाले बजार अझै बढ्ने सेयर बजारका जानकारहरु बताउँछन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३०.५१ अंकले घटेर २८०३.६२ को अंकमा झरेको छ । सेन्सेटिभ परिसूचक पनि ७.०४ अंकले घटेर ५२१.८३ को विन्दुमा पुगेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ३ उपसमूहको सेयर बढेको छ भने बाँकी सबै उपसमूहहरुको उपसूचक घटेको हो ।

नेप्सेमा बुधबार नेपाल बंगलादेश बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको २८ करोड ६९ लाख ९९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

नेप्सेमा आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

यस दिन हिमालयन उर्जा विकास कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ६.२१ प्रतिशतले घटेको छ ।

कूल २२९ वटा कम्पनीको एक करोड ६१ लाख ४७ हजार ३ सय ९० कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ३ करोड ३२ लाख १२ हजार ७ सय ४२ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !