११ कार्तिक २०८१, आइतबार

नेपाल पत्रकार महासंघका अध्यक्षको नैतिकतामा प्रश्न उठाउँदै केन्द्रिय सदस्यद्वारा बैठक बहिस्कार

प्रकाशित मिति :  14 January, 2022 12:35 pm


काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्यले बैठक बहिस्कार गरेका छन् । शुक्रबार कपिलबस्तुमा सुरु भएको बैठकमा अध्यक्ष विपुल पोख्रेल माथि प्रश्न उठाउँदै केही केन्द्रिय सदस्यहरुले बैठक बहिस्कार गरेका छन् ।

बैठक कक्षबाट केन्द्रिय सदस्यहरु बाहिर निस्केपछि महासंघको केन्द्रिय समिति बैठक अवरुद्ध बनेको छ ।

बैठक सुरु हुनासाथ महासंघका केन्द्रीय सदस्यहरुले मिडिया अवार्डका नाममा महासचिवको हस्ताक्षर दुरुपयोग, अध्यक्षले विभिन्न ठाउँमा फोन गरेर पैसा मागेको तथा विवादित कार्यक्रममा गएर अध्यक्षले संस्थागत मान्यता दिएको घटनाको छानबिन हुनुपर्ने बताएका थिए ।

महासंघकी उपाध्यक्ष बाला अधिकारीले कांग्रेसको राजनीतिमा सक्रिय हुने भन्दै महासंघबाट राजीनामा दिएको घोषणा गरेकी थिइन् । तर उनी महासंघको आजको केन्द्रीय समिति बैठकमा सहभागी भएपछि उनको उपस्थितको बारेमा केन्द्रिय सदस्यहरुले प्रश्न उठाएका थिए ।

अध्यक्ष नै ठगी धन्दामा संलग्न रहेको भनेर आरोप आइसकेपछि उनको अध्यक्षतामा बैठक बस्न नसक्ने सदस्यहरुले अडान लिएका छन् । जसको बारेमा छानबिन गर्ने हो, उसैले बैठकको अध्यक्षता गर्न नसक्ने अडान लिएर आफूहरुले बैठक बहिस्कार गरेको एक केन्द्रीय सदस्यले बताए ।

बैठक बहिस्कार गर्नेमा प्रेस सेन्टर र समाजवादी प्रेस संगठनबाट निर्वाचित केन्द्रीय सदस्यहरु छन् ।



प्रतिक्रिया दिनुहोस !