११ कार्तिक २०८१, आइतबार

सुरक्षित स्टिकर छपाई अब नेपालमै गर्न निर्देशन

प्रकाशित मिति :  14 January, 2022 6:08 pm


काठमाडौं ।अर्थमन्त्री जनार्दन शर्माले अन्तः शुल्क ‘स्टिकर’को सुरक्षित मुद्रण नेपालमै गर्न निर्देशन दिएका छन् । काभ्रेको पनौतिस्थित आइटी पार्कमा जडान हुँदै गरेको सुरक्षण मुद्रण प्रिन्टिङ प्रेसको निरीक्षण गर्दै मन्त्री शर्माले अर्थ मन्त्रालयलाई आवश्यक स्टिकर तत्कालै उपलब्ध गराउन सुरक्षण मुद्रण केन्द्रलाई निर्देशन दिए ।

‘हामीलाई करिब तीन अर्ब पिस स्टिकर चाहिँदो रहेछ । त्यो तीन अरब स्टिकर छाप्न यस्ता मेसिन कति चाहिन्छन्, तत्काल ल्याएर जडान गर्न आग्रह गर्छु’ मन्त्री शर्माले भने , ‘कमसेकम अर्थ मन्त्रालयलाई आवश्यक पर्ने स्टिकर उपलब्ध गराउनुहोस्।’

अब एक वर्षको अवधिमा मन्त्रालयलाई आवश्यक पर्ने परिमाणको स्टिकर छाप्न सक्ने गरी व्यवस्था गर्न निर्देशन दिए ।

जडान हुँदै गरेका अत्याधुनिक मेसिनले नोटबाहेक अन्य सबै किसिमका मुद्रण गर्ने जानकारी आफूलाई दिइएको जनाउँदै उनले यसको ठूलो बजार समेत रहेको बताए ।

बैंक, यातायात, मालपोतलगायतका विभिन्न क्षेत्रको काम यसले पाउनसक्ने बताउँदै उनले सुरक्षण प्रिन्टिङ प्रेसबाट नाफा मात्रै देखिएको जनाए । मन्त्री शर्माले यसको लागि सरकार लगानी गर्न नहिच्किचाउने बताए ।

यसैगरी प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सुरक्षण मुद्रण केन्द्र राज्यले सञ्चालन गरेका संस्थामध्ये उदाहरणीय संस्था बन्नसक्ने उल्लेख गरे ।

हाल स्टिकर छाप्ने काम जनक शिक्षा सामग्री केन्द्रले गर्दै आएको छ । आन्तरिक राजश्व विभागका महानिर्देशक शोभाकान्त पौडेलका अनुसार दुई वर्षदेखि जनक शिक्षाले करिब २२ करोडमा स्टिकर छाप्दै आएको छ । यसअघि ‘ग्लोबल टेन्डर’ मार्फत् स्टिकर छापिने गरिएको थियो ।

 



प्रतिक्रिया दिनुहोस !