प्रदेश नं २ को नाम ‘मधेस’, राजधानी ‘जनकपुरधाम’
जनकपुर । प्रदेशसभा गठन भएको करिब ४ वर्षपछि बल्ल प्रदेश नं २ ले आफ्नो नाम र स्थायी राजधानी पाएको छ । प्रदेशसभाले आज मतदान प्रक्रियाबाट प्रदेशको नाम र स्थायी राजधानी टुङ्गो लगाएको हो ।
प्रदेशसभाका दुई तिहाइ बहुमत प्रदेशसभा सदस्यहरूले प्रदेशको नाम मधेस प्रदेश र स्थायी राजधानी जनकपुरधामलाई कायम गरेको छ ।
सत्तारूढ दल जनता समाजवादी पार्टी, नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी लाकतान्त्रिक समाजवादी पार्टीको संयुक्त प्रस्ताव मधेस प्रदेशका लागि भएको मतदानमा ८० जना प्रदेशसभा सदस्यहरूले मतदान गरेका थिए । उक्त सङ्ख्या प्रदेशसभामा उपस्थिति ९९ प्रदेशसभा सदस्यमध्ये दुई तिहाइ बढी मत भएको भन्दै मधेस प्रदेशको प्रस्ताव पारित भएको सभामुख सरोजकुमार यादवले घोषणा गरे ।
जसपाका शैलेन्द्रकुमार यादव र माओवादी केन्द्रका भरतप्रसाद साह प्रस्तावक रहेको मधेस प्रदेशसम्बन्धी प्रस्ताव पारित भएपछि प्रदेशको नामसम्बन्धी अन्य प्रस्तावहरू स्वतः निष्क्रिय भएको सभामुख यादवले घोषणा गरे ।
हाल प्रदेश नं २ को प्रदेशसभामा १०४ जना सांसद रहेकामा कुनै पनि प्रस्ताव पारित हुन दुई तिहाइ अर्थात् ७० मत आवश्यक पर्छ । प्रदेश नं २ का नामका लागि मधेस प्रदेशसँगै जानकी प्रदेश, मिथिला भोजपुरा र मध्य मधेस प्रदेश प्रस्ताव दर्ता गरिएको थियो ।
यस्तै, आजै प्रदेशको राजधानी जनकपुरधाम कायम हुने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेको थियो । प्रदेशसभामा आज भएको जनकपुरधाम राजधानी हुनुपर्ने सबै दलको संयुक्त प्रस्ताव दुई तिहाइ बढी मतले पारित भएको थियो ।
हाल कायम रहेको १०४ प्रदेशसभा सदस्यमध्ये ९९ मत खसेको थियो । जसमा ७८ मत जनकपुरधाम राजधानी हुनुपर्ने प्रस्तावको पक्षमा खसेको र उक्त सङ्ख्या दुुई तिहाइभन्दा बढी भएकाले जनकपुरधाम राजधानी कायम भएको सभामुख यादवले घोषणा गरेका थिए ।
जनकपुरधाम राजधानी हुनुपर्ने प्रस्तावमा उत्तरमा धनुषा ढल्केवरको पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपाल–भारत सीमा र पश्चिममा मिथिला माध्यमिकी परिक्रमा क्षेत्र रहेको उल्लेख छ । दोस्रो पटकको प्रयासमा प्रदेशको नाम र राजधानीको टुङ्गो लागेको हो ।
यसअघि २०७६ साल चैत ३ मा मतदान हुँदा पनि नाम र राजधानी तोकिन सकेको थिएन । दुवै प्रस्तावमा दुई तिहाइ मत नपुगेपछि नाम र स्थायी राजधानीको प्रस्ताव असफल भएको थियो । प्रदेशसभा सदस्यहरू खुसी लामो समयको संवाद र बहसपछि प्रदेशको नाम र राजधानी टुङ्गो लागेपछि प्रदेशसभा सदस्यहरूले खुसियाली मनाएका छन् ।
प्रदेशसभामा प्रदेशको नाम र राजधानीको घोषणा गरिरहँदा बैठकमा उपस्थित प्रदेशसभा सदस्यहरूले बैठक हलमै खुसियाली मनाएका हुन् । प्रदेशसभा सदस्यहरूले बैठक हलभित्रै खुसियालीमा नाराबाजीसमेत गरेका छन् । आफूले पाएको महत्वपूर्ण जिम्मेवारी पूरा भएकामा हर्षित बनेका प्रदेशसभा सदस्यहरूले ढिलै भए पनि मधेस र मधेसी जनताको पक्षमा निर्णय आएको भन्दै एक–अर्कालाई बधाईसमेत ज्ञापन गरेका छन् ।
“प्रदेशको नाम र राजधानी टुङ्गो लगाउन नसक्दा चारैतिर हाम्रो आलोचना भइरहेको थियो,” प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भने , “आज त्यो अभिभारा पूरा भएकामा खुसी लागेको छ, आज मधेस आन्दोलनको भावना, मधेसीको चाहनाअनुसारको उपलब्धि हासिल भएको महसुस गरेका छौँ ।” राजु विश्वकर्मा/रासस