एन्टिजेन र पीसीआर परीक्षण नि:शुल्क गर्न उपभोक्ता मञ्चको माग
काठमाडौं । कोरोना भाइरसको परीक्षण निःशुल्क गर्ने व्यवस्था गर्न राष्ट्रिय उपभोक्ता मञ्चले माग गरेको छ । मञ्चले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो ।
मञ्चले आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउनु पर्ने उपभोक्ताको संवैधानिक अधिकारलाई सर्वोच्च अदालतले समेत स्वीकार गर्दै प्रत्येक नागरिकको कोरोनाको टेष्ट गर्दा नि:शुल्क गर्न नेपाल सरकारलाइ आदेश दिई सकेको अवस्थामा पनि सरकारी स्वास्थ्य संयन्त्रहरुबाट समेत बढि मूल्य लिइएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।
“यस बिषयलाई गम्भिरताका साथ लिई कोरोनाको पि.सि.आर तथा ऐन्टिजेन टेष्ट पूर्णतः निशुल्क गर्न गराउन तत्काल आदेश जारी गरी पाउन अनुरोध गर्दछौं,” मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले प्रेषित गरेको पत्रमा उल्लेख छ ।
नेपालका निजी अस्पतालहरुले ऐन्टिजेन टेष्ट गरे बापत न्यूनतम रु. ५ सय र पीसीआर टेष्ट बापत न्यूनतम रु. २ हजार तथा सरकारी अस्पतालमा रु. १ हजार लिई रहेको पाइएको मञ्चले जनाएको छ ।
“पीसीआर टेष्टको लागि प्रयोग हुने टेष्टकिटको अधिकतम साइज ९६ प्रयोग गर्दा समेत अधिकतम ६ अमेरिकी डलर मात्र खर्च हुने आधारमा नेपाली रुपैयां ८ भन्दा बढि कदापी पर्दैन,” मञ्चको दाबी छ ।
सरकारले शंका लागेमा तुरुन्त पीसीआर र एन्टिजेन टेष्ट गर्न नागरिकलाई अनुरोध गरेको छ । सार्वजनिक स्थल, समारोह आदि ठाउँहरुमा जान पि.सि.आर. टेष्ट गरेको वा ऐन्टिजेन टेष्ट गरेको प्रमाण पत्र तथा खोप लिएको प्रमाण पत्र अनिवार्य गरेकाले सरकारले आफ्नो उत्तरदायित्व पूरा गर्दै निशुल्क व्यवस्था गर्न मञ्चले माग गरेको हो ।