प्रदेश-५ ले गर्न लागेको लगानी सम्मेलन स्थगित, मेला महोत्सवमा पनि रोक
रूपन्देही, १९ फागुन । प्रदेश -५ सरकारले वैशाखमा गर्न लागेको लगानी सम्मेलन स्थगित गरेको छ ।
कोरोना भाईरसको संक्रमणको त्रासका कारण प्रदेश ५ सरकारले वैशाखमा गर्न लागेको लगानी सम्मेलन स्थगित गरेको हो । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले सम्मेलनसँगै प्रदेश ५ का १२ वटै जिल्लामा हुने मेला महोत्सव पनि अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गर्न निर्देशन दिएको छ ।
सम्मेलनमा विदेशी लगानीकर्ता पनि सहभागी गराउनुपर्ने भएकाले अन्तर्राष्ट्रिय परिवेशअनुसार सतर्कता अपनाउन सोमबार बसेको मन्त्रिपरिषद बैठकले सम्मेलन स्थगित गर्ने र मेला महोत्सव पनि रोक्ने निर्णय गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।
बैठकले लगानी सम्मेलन, मेला, महोत्सवसँगै धेरै जना भेला हुने कार्यक्रममा समेत प्रमुख जिल्ला अधिकारीमार्फत रोक लगाउने निर्णय गरेको हो । बैठकले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न र सतर्कता अपनाउन संघीय सरकारको निर्णय कार्यान्वयन गर्ने र प्रदेश सरकारले पनि एकै ठाउँमा धेरै भेला हुने खालका कार्यक्रममा रोक लगाउने निर्णय गरेको छ । प्रदेश ५ सरकारले वैशाख ४ र ५ गते लगानी सम्मेलन गर्दै थियो ।