११ कार्तिक २०८१, आइतबार

‘डुब्लिकेट’ मह बनाउने उद्याेगमा प्रहरीकाे छापा, मिसावट गर्दै गरेकाे अवस्थामा एक पक्राउ

प्रकाशित मिति :  21 January, 2022 12:49 pm


काठमाडाैं । विगत ७ वर्षदेखि गुणस्तरहीन मह उत्पादन गरेर देशका विभिन्न सहरमा विक्री गर्दै आएका एक व्यक्ति पक्राउ परेका छन् । काठमाडाैं महानगरपालिका वडा नं. २७ ज्याठा बस्ने नतिजा प्याकेजिङका सञ्चालक नर बहादुर श्रेष्ठलाई मिसावट गरी गुणस्तरहीन मह बनाइ रहेको अवस्थामा पक्राउ गरिएकाे हाे ।

गुणस्तरहीन (डुब्लिकेट) मह बनाउनको लागि प्रयोग गरिने बिभिन्न प्रकारका सामाग्री, मेसिन, केमिकलहरु र गुणस्तरहिन ७ हजार ६ सय किलाे तयारी तथा कच्चा मह समेत बरामद गरी कारवाहीका लागि महानगरीय प्रहरी परिसर, टेकुमा पठाइएकाे महानगरीय अपराध महाशाखाले जनाएकाे छ । 

प्रहरीका अनुसार उनले बिगत ७ बर्ष श्रीमती रस्मिला श्रेष्ठको नाममा नतिजा प्याकेजिङ सञ्चालन गरी गुणस्तरहिन मह बनाई बिक्री बितरण गर्दै आएका थिए । नतिजा प्याकेजिङको नाममा कम्पनि दर्ता गरी स्पर्स हनिकाे ब्राण्डमा मह विक्री गरेकाे पाइएकाे हाे । 

प्रहरीले प्राप्त सूचनाका आधारमा अप्रेसन हनी संचालन गरेकाे थियाे । स्पर्स हनी खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभाग, बबरमहल, काठमाण्डौमा परिक्षण गर्दा एचएमएफ र एफ जी रेसियाेको मात्रा नेपाल सरकारको लागि तोकिएको अनिबार्य गुणस्तर अनुरुप नरहेको र मह खान योग्य नरहेको पाइएकाे हाे । 

श्रेष्ठले गुणस्तरहीन मह काठमाडाैं, भक्तपुर र पोखराका होटेल, रेष्टुरेण्टहरुमा थोक तथा खुद्रा बिक्री बितरण गर्ने गरेको प्रहरीले जनाएकाे छ । मह बनाउन प्रयोग हुने कच्चा पदार्थ दाङ, नवलपरासी र चितवनबाट खरिद गरी गुणस्तरही मह बनाई प्रति किलाे ६ सय ५०मा बिक्री बितरण गर्दै आएको बुझिएको छ ।

उनले सञ्चालन गरी आएको स्पर्स हनी भन्ने ब्राण्ड दर्ता समेत देखिदैन । मह बनाउनको लागि ३० प्रतिशत ग्लुकोज, ३० प्रतिशत चिनी र बाँकी ४० प्रतिशत मह बनाउन प्रयोग हुने कच्चा पदार्थ मिसावट गरी बनाउने गरेको प्रहरीले खुलासा गरेकाे हाे । 

प्रहरीले श्रेष्ठबाट गुणस्तरहीन तयारी मह ६ सय किलाे, कच्चा तथा गुणस्तरहीन मह ६ हजार ५ किलाे, ग्लुकोज ५ सय किलाे, चिनी एक सय किलाे बरामद गरेकाे छ । त्यसैगरी वेट मेसिन, लेभल मेसिन, सिल मेसिन, पेट्राइज मेसिन, स्टोरेज मेसिन, स्पर्स हनीका लेभलहरु ( स्टिकर ) र पेट जार करीब १ हजार पिस बरामद गरिएकाे छ । 

उपत्यका र देशका विभिन्न स्थानमा नक्कली एवं गुणस्तरहीन मह बिक्री बितरण भैरहेको पाईएकोले सहज रहने प्रहरीले अपिल गरेकाे छ । 

 



प्रतिक्रिया दिनुहोस !