एकै पटक तीनवटै तहको चुनाव हुने पक्का जस्तै
काठमाडौं । एकै पटक तीनवटै तहको चुनाव हुने कुरो सत्ता गठबन्धन भित्र पक्का जस्तै भएको छ ।
सत्ता गठबन्धनका प्रमुख घटक नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दहाल प्रचण्डले त्यसै एकै पटक तीनवटै तहको चुनाव गराउनुपर्ने प्रस्तावबारे सार्वजनिक अभिव्यक्ति त्यसै नदिएको यस मामिलासँग निकट एक स्रोतले जनाएको छ ।
सबैले गाली गर्ने गरेको भएपनि अहिलेको नेपाली राजनीतिको धुरीमा प्रचण्डको प्रभाव कमजोर भइसकेको बताउँदै उनले अर्को फागुन चैतमा तीनवटै तहको चुनाव एकैपटक सम्पन्न गर्ने विषयमा सत्तागठबन्धन करिब करिब सहमति जस्तो छ ।
सत्ता गठबन्धन मात्रै होइन प्रतिपक्षी दल नेकपा एमालेको सहमति ठोस गरी यसबारे निर्णय गरिने उनको भनाइ छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अधयक्ष केपी शर्मा ओलीीसँगको भेटमा यसबारे उनको आशय खोजेका थिए । प्रधानमन्त्रीको यसरी प्रतिपक्षी दलका नेताको निवासमा घडीघडी जाने हुँदैन् । तरकसमा भएका वाणहरूको सम्भावित प्रयोगहरूको बारेमा पूर्व आकलन गर्न प्रधानमन्त्रीले प्रतिपक्षी दलका नेताहरूकोमा जाने गर्छन् । त्यसैले देउवाले संसद अवरोध मात्रैका लागि होइन निर्वाचन लगायतका विषयमा ओलीबाट हुन सक्ने सहजता र असहजताको आकलन गरी फर्केको तीन नेताको भनाइ छ ।
प्रक्रियागतरूपमा यसअघि भएका स्थानीय तहको निर्वाचन विभिन्न चरणमा गरी भएको थियो । यसले गर्दा समग्र देशको स्थानीयतहको गठन प्रक्रियामा एकरूपता कायम गर्न पनि तीनवटै तहको निर्वाचन एकै पटक गर्दा उपयुक्त देखिएकोले एमालेले प्रकारान्तरणले सहमति जनाउने उनको कथन छ ।
यसरी हेर्दा २०७९ सालको फागुनदेखि चैत भित्र तीनवटै क्षेत्रको चुनाव सम्पन्न गर्ने सहमति सत्ता गठबन्धनमा बनेको छ ।
संविधानविद्हरूको सल्लाह अनुसार संविधान, कानुन र ऐनमा बाझिएका विषयमा छलफल गरी यसबारे टुङ्गो लगाइने छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रमुख प्रतिपक्षले संसद अवरोध गरिरहेकाले संसदको चुनाव यही वैशाखमा गर्ने र स्थानीय तहको चुनाव आउने कात्तिक वा मंसिरमा गर्ने प्रस्ताव गरेका थिए ।यस विषयमा एमालेका नेताबाट आलोचना पनि खेपेका थिए ।
अर्को साल फागुनमा मात्र संसदको कार्यकाल पाँच वर्ष पुग्ने भएकाले र अदालतको फैसलाले पनि संसद पुरै अवधिसम्म चल्नुपर्ने उल्लेख गरेकाले र एमालेको विरोधका कारण यो वैशाखमा संसदीय निर्वाचन गर्न नमिल्ने गठबन्धनका नेताहरू समहत देखिन्छन् ।
तर तीनवटै चुनाव एकैपटक गर्ने विषयमा भने उनीहरू एकमत छन् ।
कानुनी र वैधानिकरूपले संसद, प्रदेश सभा र स्थानीय तहको निर्वाचन एकै पटक गरिने विषयमा आवश्यक जोडतोड पूरा गर्नुपर्ने उनको भनाइ छ ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा अहिलेको सत्तागठबन्धनका घटकहरू हुन् ।
२०७४ मंसिर १० र २१ गते गरी दुई चरणमा संघीय संसद र प्रदेश सभाको निर्वाचन भएको थियो । सो निर्वाचन अनुसार संघीय संसदमा समावेशी प्रतिनिधित्वको लागि राष्ट्रिय सभाको निर्वाचन गर्न निर्वाचन आयोगले अन्तिम परिणाम फागुन २ गते दिएको थियो । त्यसकै आधारमा केपी शर्मा ओली फागुन ३ गते प्रधानमन्त्री बनेका थिए । प्रतिनिधि सभा र राष्ट्रिय सभाको पहिलो अधिवेशन भने फागुन २१ गतेदेखि सुरु भएको थियो ।
२०७४ फागुन २ गते वा संसदको पहिलो बैठक बसेको फागुन २१ गते जुनसुकै तिथिलाई आधार मानेर प्रतिनिधि सभाको ५ वर्षे कार्यकाल २०७९ फागुनमा सकिन्छ ।
२०७४ मा स्थानीय निर्वाचन तीन चरणमा गरी वैशाख, असार र असोजमा चुनाव सम्पन्न भएका थिए ।
यस विषयमा विवाद मिलाएर स्थानीय तहको कार्यकाल पूरा भएको ६ महिना भित्र सक्नु पर्ने प्रावधानलाई मान्दा पनि स्थानीय तहको चुनाव फागुनसम्म सकिन सकिने देखेर तीनवटै चुनाव एकै पटक गर्न सकिनेमा सत्ता गठबन्धनका नेताहरू प्रयासरत छन् । प्रचण्डले गठबन्धनका नेताहरूको मनसाय अनुसार नै पहिले संसदको निर्वाचन गर्नुपर्ने प्रस्ताव अघि सारेको ती नेताको भनाइ छ । एकै पटक तीनवटै तहको चुनाव गराउने प्रस्ताव प्रचण्डका लागि मान्य नै छ ।