कोरोना नियन्त्रण तथा रोकथाममा लुम्बिनी प्रदेश प्रमुखको चासो
बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले कोरोना संक्रमण नियन्त्रण , खोप अभियान र उपचारमा चासो देखाएका छन् ।
पछिल्लो समय कोरोनाको नँया भेरियन्ट तिव्र गतिमा फैलिएपछि सरकारले नियन्त्रणमा गरेका प्रयासबारे जानकारी लिएका हुन् । मुख्यमन्त्री कुलप्रसाद केसीसहित सभामुख , प्रदेशका मन्त्रीहरू , स्वास्थ्य मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीलाई आफ्नै कार्यालय बुटवलमा बोलाएर उनले आज जानकारी लिएका छन् ।
प्रदेश प्रमुख शेरचनले कोरोना महामारी नियन्त्रणको लागि लुम्बिनी प्रदेशले अभियान नै सञ्चालन गरेर अरु प्रदेशले पनि सिको गर्ने कार्य गर्न सुझाव दिए । उनले प्रयाप्त मात्रामा पिसिआर परिक्षण नभएको , सिरिञ्ज अभाव र आर्थिक अभावले क्वारेन्टाईन सञ्चालन हुन नसकेको मिडियाबाट आफूले जानकारी पाएको बताउँदै तत्काल तीनै तहका सरकार मिलेर कोरोना नियन्त्रण तथा बिरामीको उपचारमा लाग्न सुझाव दिए ।
सरकारको पहिलो दायित्व नागरिकको जीवन रक्षा भएको प्रमुख बताउँदै शेरचनले विकास निर्माणका कामहरू स्थगित गरेर भएपनि नागरिकको जीवन सुरक्षा गर्नको लागि ध्यान दिन आग्रह गरे ।
यस्तै मुख्यमन्त्री कूलप्रसाद केसीले कोरोना संक्रमण नियन्त्रण र उपचारको लागि प्रदेशका मन्त्रीहरूको अनुगमन समिति बनाएर प्रभावकारी उपचार भए नभएको बारेमा अनुगमनमा जोड दिईएको बताए ।
उनले केन्द्र सरकार र नेपाली सेनाको प्रयासमा प्रदेशमा रुपन्देही , कपिवस्तु र बाँकेमा गरी ३ वटा होल्डिङ्ग सेन्टरको निर्माणको काम भईरहेको र बनिसकेका सेन्टरको सञ्चालन गरिने जानकारी दिए । रुपन्देहीमा जग्गा प्राप्त हुन नसक्दा होल्डिङ्ग सेन्टर नबनेको र कपिलवस्तु र बाँकेमा निर्माणको काम अन्तिम चरणमा पुगेको केसीले बताए ।