हिंसात्मक अभिव्यक्ति नदिएको मन्त्री यादवको प्रष्टिकरण,आगामी दिनमा सचेत रहने प्रतिबद्धता
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले गाैरमा आफूले हिंसात्मक अभिव्यक्ति नदिएको दाबी गरेकी छन् ।
पार्टीको भातृसंगठन समाजवादी युवा संघले रौतहटस्थित गौरमा गरेकाे श्रद्धाञ्जली सभामा आफूले दिएको अभिव्यक्ति कसैप्रति लक्षित नभएको उनले बताएकी हुन् ।
गौरको सो कार्यक्रममा हिन्दीमा सम्बोधन गर्दै मन्त्री यादवले गौर हत्याकाण्ड दोहोरीन सक्ने र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसमेतको हत्या हुन सक्ने चेतावनी दिएकी थिइन् ।
भाषणपछि उनकाे चर्को आलोचना भएको थियो । मन्त्री यादवलाई हटाउन दबाव बढेपछि उनले विज्ञप्ति मार्फत स्पष्टिकरण दिएकी हुन् ।
उनको विज्ञप्तिमा भनिएको छ “ हाम्रो पार्टीको भातृसंगठन ’समाजवादी युवा संघले रौतहटस्थित गौरमा श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो । त्यस सभामा मैले दिएको अभिव्यक्ति कसैप्रति लक्षित कुनै पूर्वाग्रह वा दूरासयपूर्ण मानसिकताबाट नभई आपसी मुठभेड नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन र शान्तिपूर्ण विधि र प्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्तिलाई पछिल्लो समय विभिन्न माध्यमहरूद्वारा कसै कसैले पूर्वाग्रहपूर्ण ढंगले आ–आफ्नो तारिकाले अपव्याख्या गरेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ मेरो मन्तव्यलाई लिएर केही भ्रम फैलिएको बुझिन आएकोले सो प्रति गहिरो दुख व्यक्त गर्दै आफ्नो भनाई कसैप्रति हिंसाको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएको व्यहोरा समेत जानकारीका लागि अनुरोध गर्दछु ।”
मन्त्री यादवले विज्ञप्तिमा भनेकी छिन् “ साथै, उक्त वक्तव्यलाई अतिरञ्चित नगरिदिन हुन् विनम्र आग्रह पनि गर्दछु । मेरो वक्तव्य व्यक्तिगत रूपमा कसैप्रति लक्षित नभएपनि त्यस्तो भ्रम पर्न गएकोमा सो प्रति दुःख व्यक्त गर्दछु । साथै यसलाई सामान्य रूपमा लिन हार्दिक अनुरोध पनि गर्दछु । अगामी दिनमा यसप्रति सचेत रहनेछु ।”