११ कार्तिक २०८१, आइतबार

निर्वाचन नहुने हल्लाले सेयरबजारमा भारी अंकको गिरावट

प्रकाशित मिति :  24 January, 2022 3:38 pm


काठमाडौं । साताको दोस्रो दिन पनि सेयर बजारमा भारी अंकको गिरावट आएको छ । गत पुसको अन्तिम सातादेखि निरन्तरजसो बढिरहेको सेयर बजार आज १०० अंकले घटेको हो ।

कारोनाको तेस्रो लहर फेलिएसँगै लकडाउन हुने सम्भावनाले सेयर बजारमा सबैको ध्यान केन्द्रित हुने देखिएको थियो तर, अहिले तेस्रो चरणको कोरोनाले धेरै प्रभाव नपार्ने र सरकारले लकडाउन गर्ने सम्भावना पनि कम देखिएको हुनाले सेयरमा पैसा आइहाल्न नपाएको सेयर जानकारहरु बताउँछन् ।

सेयरबजारलाई साना साना सूचनाहरुले पनि प्रभावित पार्ने नेपाल पुँजीबजार संघकी अध्यक्ष राधा पोख्रेल बताउँछिन् ।

पोख्रेल भन्छिन, “बैशाखमा स्थानीय तहको निर्वाचन हुने कुराले पनि सेयर बजारमा सकरात्मक माहोल फैलिएको थियो तर अहिले निवार्चन नहुने जस्तो कुरा पनि आएको छ त्यसैको प्रभाव पनि परेको हो यदि निर्वाचन भएमा तरलताको समस्यालाई कम हुने अपेक्षामा लगानीकर्ता रहेका थिए तर सरकारले निर्वाचनको मिति सार्ने देखेपछि लगानीकर्ताले सेयर बेचेका छन् ।”

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १००.१० अंकले घटेर २८२०.४१ अंकमा झरेको छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि १८.२० अंकले घटेर ५२५.९० अंकमा झरेको छ ।

आज कारोबार भएका १३ उपसमूहमध्ये सबै वटा उपसमूहको सेयर घटेको छ । सबैभन्दा धेरै विकास बैंक समूह घटेको छ ।

सोमबार नेप्सेमा अपि पावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३८ करोड ३४ लाख २४ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज नेप्सेमा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र बुद्धभूमी नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आज कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । बैंकको सेयरमूल्य ७.८२ प्रतिशतले घटेको छ ।

कूल २२८ वटा कम्पनीको एक करोड ७० लाख ६३ हजार ८ सय ३३ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार एक सय ७७ रूपैयाँ ५७ पैसा बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !