११ माघ २०८१, शुक्रबार

निर्वाचन आयोगद्वारा स्थानीय तहको चुनाव मिति यथाशीघ्र तोक्न सरकारलाई आग्रह

प्रकाशित मिति :  25 January, 2022 3:44 pm


काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको चुनावको मिति यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ ।

आज विज्ञप्ति जारी गर्दै आयोगले स्थानीय तहको निर्वाचनको मिति तोक्न आग्रह गरेको हो । २०७४ वैशाख ३१ मा पहिलो चरण, असार १४ मा दोस्रो चरण र असोज २ गते तेस्रो चरणमा स्थानीय तहको निर्वाचन भएको थियो ।

आयोगले सबै निर्वाचित पदाधिकारीहरूको कार्यकाल आगामी २०७९ जेठ ५ गते समाप्त हुने भएकाले यसबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई पहिलो पटक गत कात्तिक ८ गते र दोस्रो पटक पुस ९ गते भेटेर जानकारी गराएको आयोगको भनाई छ ।

आयोगले भनेको छ,“मिति २०७९ वैशाख १४ गते बुधबारका दिन एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोक्न प्रस्ताव गरिएको र यदि कुनै कारणबाट एकै चरणमा निर्वाचन गर्न सम्भव नभएमा पहिलो चरण मिति २०७९ वैशाख १४ गते बुधबार र दोस्रो चरण २०७९ वैशाख २२ गते विहीबार गर्ने गरी दुई चरणमा निर्वाचन उपयुक्त हुने भनी प्रस्ताव गरिएको व्यहोरा विदितै छ ।”

आयोगले २०७९ वैशाख मसान्तभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न तयारी अवस्थामा रहेको पनि स्पष्ट पारेको छ ।
आयोगले वर्तमान संवैधानिक एवं कानुनी व्यवस्थाको आधारमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने काम जति बिलम्ब हुँदै जान्छ, त्यति नै निर्वाचन व्यवस्थापनको कार्य व्यवहारिक एवं प्राविधिक कारणले जटिल बन्दै जाने कुरालाई पनि दृष्टिगत गर्न भनेको छ ।

आयोगले आयोगको परामर्शमा आगामी स्थानीय तहका निर्वाचनको मिति यथाशीघ्र तोक्न नेपाल सरकारलाई आग्रह गरेको  छ ।



प्रतिक्रिया दिनुहोस !