स्याङ्जाको भीरकोट नगरपालिकाद्वारा जेष्ठ नागरिक सम्मान अभियान सञ्चालन,रु.२० लाख खर्च हुने
स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकाले जेष्ठ नागरिक सम्मान अभियान सञ्चालन गरेको छ।
अभियान अन्तर्गत नगरपालिकाका करिब २ हजार १ सय जेष्ठ नागरिक र रातो कार्ड भएका अपांगहरूलाई न्यानो कपडा एवं फाइवर सिरक वितरण गरिने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ।
अभियान अन्तर्गत नगर प्रमुख छायाराम खनाल, उपप्रमुख सिमा के. सी. कर्माचार्य र वडा अध्यक्षहरू सहितको टोलीले घरघरमै पुगेर जेष्ठ नागरिकहरूलाई न्यानो कपडा र फाइबर सिरक वितरण गरेको छ।
पहिलो चरणमा लक्षित करिब ९५० जना जेष्ठ नागरिक र रातो कार्ड भएका अपांगहरूलाई फाइवर सिरक उपलब्ध गराउने र दोस्रो चरणमा ७० वर्षभन्दा माथिका करिब १ हजार २ सय जेष्ठ नागरिकलाई न्यानो कपडा उपलब्ध गराइने नगरपालिकाले जनाएको छ ।
अभियानकै क्रममा नगर प्रमुख खनालले अनुभव र प्रेरणाका स्रोत जेष्ठ नागरिकको सम्मान सँगसँगै नगरका जेष्ठ नागरिक, विपन्न, अपांग र असाहयको वास्तविक वस्तुस्थिति थाह पाउन जेष्ठ नागरिक सम्मान अभियान सञ्चालन गरिएको बताए ।
वडाका जनप्रतिनिधिहरूले सक्रिय भूमिका नखेल्दा केही नागरिकहरू स्थानीय सरकारसँग जोडिन नसकेको हुँदा आफू स्वयं घरदैलोमा निस्केको नगरप्रमुख खनालले जानकारी दिए ।
जेष्ठ नागरिक सम्मान अभियानमा करिब रु.२० लाख खर्च हुने अनुमान गरिएको छ।