१० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, आज बोलकबोल हुँदै
काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८२ ‘ङ’ बिक्री गर्ने भएको छ । यसका लागि राष्ट्र बैंकले आइतबार (आज) ४ वर्षे अवधिको विकास ऋणपत्र बोलकबोल गर्नेछ ।
यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्नेछन्।
उक्त ऋणपत्रको व्याजदर भने बोलकबोल मात्र नै निर्धारण हुने र ब्याज भुक्तानी अर्धवार्षिक हुनुका साथै आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ। यो ऋणपत्र धितो राखी कर्जा लिन तथा दिन पाइनेछ ।
बोलकबोलमा इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुन पाउनेछन्। प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोलहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात ८.५० अर्ब र १.५० अर्ब छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिनेछ।
अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा ऋणपत्रको रकम बाँडफाँड गरिने बैंकले जनाएको छ ।
विकास ऋणपत्र भनेको के हो ?
दुई वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल विभागबाट निष्कासन भएका विकास ऋणपत्र ५, ७, ८, ९, १०, ११, १२, १३ र १५ वर्षे अवधिका रहेका छन् । नेपाल सरकारको आवश्यकतानुसार यो ऋणपत्रको अवधि निर्धारण गरिन्छ ।
सरकारलाई देशको आर्थिक विकासको लागि आवश्यक मध्यम तथा दीर्घकालीन अवधिको स्रोत जुटाउनु यो ऋणपत्रको उद्देश्य रहेको छ । विकास ऋणपत्र बोलकबोलको माध्यमबाट निष्कासन हुने गर्दछ भने बोलकबोलमा एकल ब्याजदर विधि (डच बोलकबोल प्रक्रिया) प्रयोग गरिन्छ । विकास ऋणपत्रको बोलकबोल ब्याजदरमा गर्नु पर्दछ ।
एकै व्यक्ति वा संस्थालेअलग–अलग वा बहु–ब्याजदरमा पनि बोल गर्न सकिन्छ । बोलकबोलको माध्यम विकास ऋणपत्रका लागि अनलाइन बिडीङ प्रणालीको माध्यमबाट बोलकबोल गर्नुपर्दछ । विकास ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, सँगठित संस्थाका साथै सर्वसाधारण नेपाल नागरिक विकास ऋणपत्रको बोलकबोलमा सहभागी हुन सक्दछन् ।