कञ्चनपुरबाट २२ किलोग्राम चरेश बरामद
प्रकाशित मिति : 30 January, 2022 1:38 pm
काठमाडौं । प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिकाबाट शनिबार राति २२ किलो १५० ग्राम चरेश बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले भारतीय नम्बर प्लेटको युपी ३१ २२५६ नम्बरको मोटरसाइकलसहित बेलौरीको बुटाबारीबाट चरेश बेवारिसे अवस्थामा बरामद गरिएको बताए ।
इलाका प्रहरी कार्यालय बेलौरीको प्रहरी टोलीले उक्त चरेश मोटरसाइकलमा राखेको अवस्थामा भेट्टाएको प्रवक्ता शाहको भनाइ छ ।
“चरेशबारे विस्तृतमा अनुसन्धान हुदैछ”, उनले भने, “अनुसन्धानबाट सबै कुरा बाहिर आउछ ।”
पछिल्लो समय कञ्चनपुरको दक्षिण क्षेत्रबाट प्रहरीले दिनहुँजसो लागूऔषध ब्राउनसुगरसहित युवकहरु पक्राउ गर्दै आएको प्रहरीले जनाएको छ । रासस