जीवित हुनेले के पाए? (कविता)
हो म हिजो बन्दुक बोकेर
विद्रोहको सर्किट लाउन हिँडेकै हुँ,
म रोल्पाको थबाङ,
रुकुमको खारा
म्यादीको बेनीमा
आफ्नो रगत बगाउँदै लडेकै हुँ ।
तर मेरो लडाइँ न त धनीहरूको
धनको विरुद्ध नै थियो
न त राजाहरूको
राजनीति विरुद्ध नै थियो,
म, न त कुनै माओको वादी थिएँ
न त कुनै ताओको वादी थिएँ
म केवल लड्दै थिएँ ..।
मेरो बन्दुकको गोलीले
तिम्रो निरंकुशतालाई लाग्यो लागेन
तिम्रो विभेदलाई भाँच्यो भाँचेन,
तर मेरो लडाइँ केवल आफ्नै
दबेको आवाजको विरुद्ध थिए
ताकि
मैले जस्तै मेरा बैनीहरू
हाम्रै मास्टरनीबाट पानीको गाग्री
छोइएको निहुँमा फेरि कुटिन नपरोस्
मेरी दिदी जस्तै बाबुसाहेब सङ्ग
प्रेम गरेकै कारण बौलाउन नपरोस्
मेरी आमाले जस्तै क ख चिनैकै भरमा
फेरि कोही लुछिनु नपरोस् ।
मेरी फुफूले जस्तै बोक्सीको आरोपमा
दिसापिसाबले नुहाउन नपरोस्
मन्दिरको ढोका छुँदा
बहिनीको जस्तै गरी
अब कसैको हात थिचिन नपरोस् ।
म आफ्नै नियतीको विरुद्ध लडदै थिएँ
आफ्नै रङ्ग विरुद्ध लड्दै थिएँ
काली ..नेप्टी ..चेप्टी
आफ्नै नाम विरुद्ध लड्दै थिएँ
विधवा भाउजूको सेतो सारीको फेर सङ्ग
समस्या थियो
सेतो फेर कुल्चेर दाग लगाउन खोज्ने
तमाम हात सङ्ग समस्या थियो
ढुङ्गाले हान्दै मारिएको कान्छो भाइको
लास सङ्ग समस्या थियो ।
म मेरै समस्याका लागि लड्दै थिएँ
तिमी जुनसुकै नाम राख,
जुनसुकै वाद राख ।
म मेरै अस्तित्वको लागि मर्दै थिएँ ।
तर
मैले वीरगति प्राप्त गरेँ हँुला
कसैले सहिद भने होलान्
कसैले लास गने होलान्?
तर
तिम्रा आस्थाहरूले,
तिम्रा जीवित वादहरूले
तिम्रा बाँडेका सपनाहरूले,
कसले कसले
जीवित भएर के के पाए?
- सुलक्षणा भट्टराई
२०७८ माघ १६