१२ कार्तिक २०८१, सोमबार

नेपालगञ्जमा रु २९ करोड लगानीमा होल्डिङ सेन्टर

प्रकाशित मिति :  2 February, 2022 4:43 pm


सरकारले सीमावर्ती भारतीय क्षेत्रबाट भित्रिने नागरिकलाई लक्षित गरी नेपालगञ्जमा ठूलो लगानीमा होल्डिङ सेन्टरको निर्माण सुरु गरेको छ ।

कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिम र यसबाट उत्पन्न हुन सक्ने जटिल परिस्थितिलाई ध्यानमा राखेर सरकारले सीमा नाकामा निर्माण गर्न लागेको होल्डिङ सेन्टरको ८५ प्रतिशत काम सम्पन्न भएको बताइएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१४ स्थित ४ बिघा ८ धुर क्षेत्रफलमा रु २९ करोड ३८ लाख २० हजारको लागतमा निर्माण भइरहेको सो होल्डिङ सेन्टर एकहजार क्षमताको रहेको छ । नेपाली सेनाको प्रत्यक्ष रेखदेख र संरक्षणमा निर्माण भइरहेको छ सो होल्डिङ सेन्टरमा जमुनाह नाका हुँदै भारतबाट आउने कोरोना भाइरस सङ्क्रमितलाई राख्ने बताइएको छ ।

नेपाल–भारत जमुनाहा नाकाबाट प्रवेश गर्ने यात्रुलाई गन्तव्यमा पु¥याउने, स्थानीयस्तरमा भइरहेको सङ्क्रमणलाई रोक्ने, आइसोलेशन र अस्थायी अस्पतालको रुपमा प्रयोग गर्ने उद्देश्यले होल्डिङ सेन्टर निर्माण गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए ।

उनका अनुसार, बाढीपहिरा, भूकम्पजस्ता प्राकृतिक प्रकोपका समयमा पनि भविष्यमा यो भवनलाई प्रयोग गर्न सकिन्छ । यसको निर्माणको जिम्मा ‘श्री हनुमान कन्स्ट्रक्सन’ कम्पनीलाई दिएको छ । होल्डिङ सेन्टर निर्माणका लागि ठेकेदार कम्पनीलाई गत पुस मसान्तसम्मको समय दिएको थियो ।

अहिलेसम्म होल्डिङ सेन्टरको ३७ प्रतिशत अर्थात् रु १० करोड ९९ लाख ६० हजार बराबरको वित्तीय प्रगति देखिएको छ । निर्माणाधीन होल्डिङ सेन्टरमा तत्कालका लागि ३०० जनालाई मात्र व्यवस्थापन गर्न सकिने गरी काम भएको श्री नम्बर ४ बाहिनी अड्डा नेपालगञ्जका बाहिनीपति सहायक रथी हरेन्द्र पाठकले बताए ।

आगामी चैत महिनासम्म निर्माण कार्य गर्नका लागि ठेक्का सम्झौताको म्याद थप्ने प्रक्रिया अगाडि बढिसकेको कम्पनीले जनाएको छ । चैतभित्रमा एक हजार बेड क्षमताको होल्डिङ सेन्टर निर्माण कार्य सम्पन्न गर्ने कम्पनीले प्रतिबद्धता जनाएको छ । होल्डिङ सेन्टरमा शौचालय, भान्सालगायत पूर्वाधार निर्माण गरिँदैछ ।

भारतबाट आउने कोरोना सङ्क्रमितलाई हाल नेपालगञ्ज उपमहानगरपालिकाले बाँके बर्दियास्थित बाल मन्दिरको आइसोलेशनमा व्यवस्थापन गर्दै आएको छ । समयमा होल्डिङ सेन्टर नबन्दा कोरोना भाइरस सङ्क्रमितको ब्यवस्थापन गर्न समस्या भइरहेको नगरपालिकाका उपप्रमुख उमा थापामगरले बताए ।



प्रतिक्रिया दिनुहोस !