स्थानीय तहको चुनाव चर्चा : रोल्पा नगरपालिकाको मेयरमा कुन पार्टीबाट को आकांक्षी ?
रोल्पा । स्थानीय तहको चुनावको मिति तोकिने चर्चासँगै रोल्पामा पनि आन्तरिक कसरत सुरु भएको छ ।
जिल्लाको एक मात्रै नगरपालिका रोल्पा नगरपालिकामा मेयरको उमेद्वार बन्न विभिन्न दलका विभिन्न नेताहरूले आकांक्षा देखाएका छन् ।
२०७४ सालमा रोल्पा नगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)का पूर्ण के.सी.ले चुनाव जितेका थिए । के.सी.ले आफ्नो ५ वर्षे कार्यकाल पुरा गर्दै गर्दा आगामी चुनावका लागि माओवादी केन्द्रका जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीले आगामी चुनावका लागि रोल्पा नगरपालिकाको मेयरको उमेद्वारमा आफ्नो दाबी पेश गरेका छन् ।
लुम्बिनी सञ्चारसँग उनले भने,“अहिले नै सार्वजनिक रुपमा सबै कुरा भन्ने कुरो पनि भएन,ठोस रुपमा केही निर्णय गरिएको छैन तर स्वभाविक रुपमा जिम्मेवार नेताको हिसाबले रोल्पा नगरपालिकाको मेयरको उमेद्वारको लागि म पनि आकांक्षी हुँ ।”
वर्तमान मेयर केसीले भने पार्टीको निर्णयमा भर पर्ने बताए । के.सी.ले लुम्बिनी सञ्चारसँग भने, “मेरो दोहोरिने मनस्थिति छैन तर पार्टीले दोहोरिनु पर्छ भनेको खण्डमा तयारै छु,मुख्य कुरा पार्टीको निर्णयमा भर पर्छ ।”
आफूलाई वा अरु कसैलाई उमेद्वार बनाएपनि आफू तयार रहेको उनको भनाई थियो । माओवादी केन्द्र रोल्पा नगरपालिकाका अध्यक्ष फबिन्द्र आचार्यपनि मेयरको उमेद्वारका आकांक्षी हुन् ।
नेपाली कांग्रेसबाट लेखनाथ आचार्य तथा कांग्रेसका नगर सभापति चन्द्रप्रकाश आचार्य र मानबहादुर खत्रीको मेयरको उमेद्वार बन्ने चर्चा छ । लेखनाथ अघिल्लो चुनावमा पराजित भएका थिए भने वडाअध्यक्ष रहेका मानबहादुर खत्री भने कांग्रेसको जिल्ला सभापतिमा दुई पटक पराजित भएका थिए । खत्रीले अब अवसर नपाए राजनीतिबाट आराम लिने मनस्थिति बनाएका छन् ।
लुम्बिनी सञ्चारसँग भने,“पार्टीले के निर्णय गर्छ हेरौैं, तर अब म आराम गर्ने पक्षमा छु, पञ्चायतदेखि अहिलेसम्म जनताको सेवा गरियो तर अब आराम गर्नुपर्ला ।”
लेखनाथ आचार्यले पनि अब चुनावी दौडमा आफू नरहेको बताए । उनले भने,“अब हामी युवाहरूलाई अगाडि आउनुस् भनेका छौं, म चुनावी दौडमा छैन ।” खत्री भने पार्टीले निर्णय गरे उमेद्वार बन्ने मनस्थितिमा छन् ।
कांग्रेसबाट नगर सभापति चन्द्र प्रकाश आचार्य मेयरको उमेद्वारका लागि बलियो दाबेदार हुन् तर उनी यस विषयमा भने धेरै खेल्न चाहेनन् । लुम्बिनी सञ्चारसँगको कुराकानीमा उनले यसबारे पछि कुरा गर्ने बताए ।
नेकपा एमालेबाट घनश्याम आचार्यले सार्वजनिक रुपमै आफ्नो दाबी पेश गरिसकेका छन् । उनले रोल्पा नगरपालिकाको मेयरमा आफ्नो एकल दाबेदारी हुने उल्लेख गरे । आचार्यले भने,“एमालेबाट नगरप्रमुखमा मेरो स्वत : दाबी हुन्छ र पार्टीको पनि समर्थन हुन्छ ।”
यस्तो थियो २०७४ को चुनावी परिणाम
२०७४ सालमा भएको स्थानीय तहको चुनावी परिणाम अनुसार रोल्पा नगरपालिकामा नेकपा (माओवादी केन्द्र) बलियो देखिन्छ ।
माओवादी केन्द्रका उमेद्वार पूर्ण केसीले ५,६३४ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका उमेद्वार लेखनाथ आचार्यले ३,८२७ मत मात्रै प्राप्त गरेका थिए ।
२०७४ सालमा नेकपा एमालेको तर्फबाट मेयरमा उमेद्वार बनेकी मिना शर्माले ४७८ मत प्राप्त गरेकी थिइन् । तर, नेकपा एमालेलेपनि पछिल्लो समय नगरपालिकाभित्र संगठन सृदृढ गरेको छ ।
अहिले केन्द्रदेखि प्रदेशसम्म गठबन्धनको सरकार छ र चुनावसम्मै गठबन्धन कायम रहेको खण्डमा रोल्पा नगरपालिका कुन पार्टीको भागमा पर्ने भन्ने प्रश्न उठ्ने छ ।
सत्ता गठबन्धन कायमै रहेको खण्डमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पार्टी एक ठाउँमा रहने छन् र गठबन्धनका उमेद्वारलाई चुनाव जित्न सहज हुने छ ।
तर अन्य दलभन्दा माओवादी केन्द्र हाबी भएकाले नगरपालिकामा आफूहरुको दाबी स्वभाविक हुने माओवादी केन्द्रका नेताहरुको भनाई छ । कांग्रेसले पनि रोल्पा नगरपालिका आफ्नो दाबी रहेन बताएको छ ।