११ माघ २०८१, शुक्रबार

कांग्रेसले सभामुख सापकोटामाथि महाभियोगको प्रस्ताव ल्याए साथ दिन्छौं : सचिव रायमाझी

प्रकाशित मिति :  3 February, 2022 2:38 pm


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटामाथि महाभियोगको प्रस्ताव ल्याए आफूहरुले साथ दिने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता रायमाझीले आफूहरू सभामुख हटाउनुपर्ने पक्षमा रहेको स्पष्ट पारे । उनले भने,“यदि कांग्रेसले सभामुखमाथि महाभियोग लगायो भने हामी साथ दिन्छौं । उहाँ विधिसम्मत् रुपमा चल्नुभएन ।”

साक्षात्कारमा बोल्दै रायमाझीले सभामुखलाई हटाउँदा नै राम्रो हुने बताएका छन् । यद्धपी आफूहरुले नै अग्रसर भएर सभामुखमाथि महाभियोग लगाउनेबारे भने नसोचेको उनको भनाई थियो । उनले भने,“हामीले सभामुखमाथि महाभियोग लगाउनेबारे सोचेका छैनौं । सरकारसँग बहुमत छ । एमसीसी फेल वा पास गर्न पनि उहाँहरुसँग बहुमत छ । सभामुखमाथि महाभियोग लगाउन पनि हामीसँग बहुमत छैन् । तर, सभामुखलाई हटाउँदा राम्रो हुन्छ । कांग्रेसले महाभियोगको प्रस्ताव ल्यायो भने हामी साथ दिन्छौं ।”

रायमाझीले आगामी निर्वाचनमा आफ्नो पार्टीले कसैसँगपनि गठबन्धन नगर्ने दाबी गरे । उनले भने ,“एमाले आफ्ना एजेण्डा लिएर जनताको बीचमा जान्छ । त्यसकारण एमालेलाई तत्काल कुनै पार्टीको साथ र सहारा चाहिँदैन् । नेपाली जनताको समर्थन र सहारा चाहिएको छ । जनताको माहोल अहिले एमालेतिर छ ।”

उनले एमालेलाई चुनावमा गठबन्धन वा महागठबन्धन जरुरी नरहेको पनि जिकिर गरे । उनले भने,“एमाले यतिवेला परमादेशको कारण प्रतिपक्षमा छ । एमालेविरोधीहरूले महागठबन्धन बनाउने काम गरेका छन् । प्रतिपक्षीको विरोधमा सरकार पक्षकाले महागठबन्धन बनाएका छन् । उनीहरु अब पराजित मानसिकतामा छन् । एमालेले जित्छ त्यसैले गठबन्धन गर्नुपर्छ भनेर उनीहरुले भनेका छन् । उनीहरूलाई जनताको समर्थन छैन् । यो गठबन्धन लोभीरपापीहरूको झुण्ड हो ।”

रायमाझीले अमेरिकी सहयोग सम्झौता एमसीसीको सवालमा पार्टीले अहिले नै आधिकारिक धारणा नबनाएको स्पष्ट पारे । उनले भने,“हामी अहिले प्रतिपक्षमा छौं ।

एमसीसीको सवालमा यो महागठबन्धनले पहिले टुँगो लगाओस । संसद्मा टेबुल भएपछि हामी सोच्छौं। अहिले हाम्रो पार्टीले कुनै निर्णय गरेको छैन् ।” उनले प्रधानमन्त्री शेरहादुर देउवाले एमसीसी संसद्मा पेश गर्नुपर्ने पनि सुझाव दिए ।

 



प्रतिक्रिया दिनुहोस !