११ माघ २०८१, शुक्रबार

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता शर्माले भने,‘लुम्बिनीमा सरकार तत्काल परिवर्तन हुँदैन’

प्रकाशित मिति :  3 February, 2022 7:01 pm


काठमाडौं । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले लुम्बिनी प्रदेश सरकार परिवर्तन नहुने बताएका छन् ।

रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशले बिहीबार बुटवलमा आयोजित साक्षात्कारमा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका शर्माले लुम्बिनी प्रदेश सरकार अहिले परिवर्तन नहुने ठोकुवा गरे ।

फागुनमा सत्ता परिवर्तन हुने हल्ला चलेको भन्दै मन्त्री शर्माले भने,“हामीले बनाएको गठबन्धन होईन, यो राष्ट्रिय आवश्यकताले बनेको गठबन्धन हो । माथिबाट जे निर्णय हुन्छ, यँहा पनि त्यही हुने हो त्यसैले अहिले नै सरकार परिवर्तन हुँदैन ।”

लुम्बिनी प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री शर्माले केन्द्रीय सरकारदेखि प्रदेशका सबै सरकार गठबन्धनको सहमतिमा बनेका र ति सबै सरकारमा गठबन्धनको सहभागिता रहेकाले पनि लुम्बनी प्रदेश सरकार परिवर्तन गर्नुपर्ने आवश्यक नरहेको तर्क गरे ।

मन्त्री शर्माले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका कारण संसद चल्न नसक्दा कयौं काममा अबरोध भएको उल्लेख गर्दै सरकार अब संसद सञ्चालन गर्ने पक्षमा रहेको बताए । १५ दिनका लागि भएपनि संसद चलाएर आवश्यक कामहरू अगाडि बढाउने पक्षमा सरकार रहेको बताउंदै संसद सञ्चालन गर्ने मिति भने मन्त्री शर्माले उल्लेख गरेनन् ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी निर्माणका लागि केन्द्रीय सरकारले १ अर्ब बजेट दिएको बताउंदै स्थायी राजधानी बनाउने कामले गति लिएको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !