चुनाव चर्चा : स्याङ्जा भिरकोट नगरपालिकामा मेयरका लागि कांग्रेसबाट मात्रै ६ जनाको दाबी
रवि थापा
काठमाडौं । सरकारले स्थानीय तहको चुनाव तोक्ने संकेत गरेसँगै स्याङजाको भिरकोट नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरको उमेद्वार बन्ने अकांक्षी नेताहरू सक्रिय हुन थालेका छन् ।
मेयरका लागि कांग्रेसबाट मात्रै ६ जनाले उमेद्वारका लागि अकांक्षा देखाएका छन् । २०७४ सालमा नेपाली कांग्रेसकै छायाराम खनाल विजयी भएका थिए ।
वर्तमान मेयर खनाल आफै दोहोरिने पक्षमा छन् । उनले लुम्बिनी सञ्चारसँग कुरा गर्दै भने,“ पार्टीले निर्णय गरे म अझै उमेद्वार बन्न तयार छु, एकपटक फेरि जनताका लागि काम गर्ने इन्छा छ ।”
कांग्रेसबाट नगरसभापतिको चुनावमा पराजित दिपेन्द्र के.सी.ले पनि भिरकोट नगरपालिकाका मेयरको उमेद्वार बन्ने अकांक्षा राखेका छन् । भिरकोट नगरपालिका वडा नं. १ का अध्यक्ष समेत रहेका के.सी.उनले भने,“मेयरका लागि मेरो स्वत दाबी छ र जितका लागि मेरा आधार तयार छन् ।” के.सी. बेलायतबाट फर्केर कांग्रेसको राजनीतिमा थप सक्रिय भएका थिए ।
नेपाली कांग्रेसका भिरकोट नगरसभापति लक्ष्मण अधिकारी अर्का उमेद्वारका दाबेदार हुन् ।
उनले अब भिरकोट नगरपालिकालाई युवाको खाँचो रहेको भन्दै आफूले उमेद्वारी दाबी गर्ने बताए । उनले भने,“ नगरका लागि अब युवाको खाँचो छ र त्यसका लागि म योग्य उमेद्वार हुँ ।” अधिकारी २०७४ सालको निर्वाचनमा वडा नं. ५ को अध्यक्षमा कांग्रेसबाट निर्वाचित भएका थिए ।
लामो समय कांग्रेस राजनीतिमा सक्रिय पीताम्बर श्रेष्ठले भिरकोट नगरपालिकाको मेयरका लागि आफू स्वभाविक उमेद्वार भएको बताए । उनले भने,“उमेर ढल्किदैँ छ ,अब पनि राजनितिमा सक्रिय हुन सकिन भने मैले आफूले परिकल्पना गरेको नगर बनाउने सपना अधुरो रहन्छ, त्यसैले मेयरको उमेद्वारको लागि मेरो दाबी छ ।”
२०७४ सालको स्थानीय तहमा समेत उमेद्वारको अकांक्षी रहेका र टिकट नपाएका तोयनाथ अर्यालले यसपटक पनि पुन : मेयरमा उमेद्वार बन्ने बताए । उनले लुम्बिनी सञ्चारसँग कुरा गर्दै भने,“राजनीति गरेपछि विभिन्न चाहना हुन्छ र मेरो पनि हुनु स्वभाविक हो,त्यसैले पार्टीले निर्णय गर्यो भने पछि हट्दैन ।” अर्याल भिरकोट नगरपालिकाका कांग्रेसका पूर्वनगर सभापति हुन् ।
कांग्रेसबाटै गोविन्द कर्मचार्य पनि उमेद्वार बन्ने आकांक्षा राखेका छन् । यसपटक पार्टीले विश्वास गर्ने उनको भनाई थियो । उनको भनाई थियो,“यसपटक मेयरको उमेद्वारी दिने हो पार्टी र जनताले मलाई खुलेर सहयोग गर्ने विश्वास छ ।”
भिरकोटमा कांग्रेसबाटै ६ जना आकांक्षी देखिएपनि वर्तमान मेयर छायाराम खनाल र नगर सभापति लक्ष्मण अधिकारीबीच टिकट पाउनकै लागि कडा प्रतिस्प्रधा हुने नेपाली कांग्रेस स्याङ्जाभित्र चर्चा छ ।
२०७४ को चुनावी परिणाम कस्तो थियो ?
२०७४ सालमा भएको स्थानीय तहको चुनावमा नेपाली कांग्रेसका उमेद्वार छायाराम खनालले ६,२८४ मत लिएर विजयी भएका थिए भने उनका प्रतिस्प्रधी नेकपा एमालेका उमेद्वार शन्तोष केसीले ४,०५० मत ल्याएका थिए ।
माओवादी केन्द्रबाट शिवकुमारी कार्की कोइराला उमेद्वार थिइन् । तर पछि फिर्ता लिएकी थिइन् । काेइरालाले उमेद्वारी फिर्ता लिँदा पनि ७११ मत आएको थियो । नेकपा(माओवादी केन्द्र)का उपमेयरका उमेद्वार चन्द्रबहादुर रोकाले ५५४ मत लिएका थिए ।* त्यसैले अहिलेपनि प्रतिस्प्रधा कांग्रेस र नेकपा एमालेबीच नै हुने देखिन्छ ।
गठबन्धनमा रहेका नेपाली कांग्रेस,माओवादी केन्द्र र नेकपा(एकीकृत समाजवादी) मध्य कांग्रेसको बढी प्रभाव रहेकाले भिरकोट नगरपालिका कांग्रेसको भागमा पर्ने छ भने चुनाव जित्न केही सहज देखिन्छ । त्यसैले कांग्रेसभित्र पनि मेयरका उमेद्वारका आकांक्षी धेरै देखिएका छन् ।
*अन्यथा भएकाले सच्चाइएको