१२ कार्तिक २०८१, सोमबार

नाफा बुक गर्दा ४० अंकले घट्यो नेप्से परिसूचक

प्रकाशित मिति :  6 February, 2022 3:42 pm


काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार बजार खुलेको समयदेखि नै घट्दै आएको सेयर बजारमा ४० अंकको गिरावटसँगै आजको कारोबार बन्द भएको छ ।

पछिल्लो समय केन्द्रीय बैंकले ७ लाख रुपैयाँभन्दा बढीको कारोबार गर्नेहरुको विवरण मागेपछि लगानीकर्तामा केही अन्योलता छाएपनि क्रिप्टो लगायतका डिजिटल कारोबारबाट अरबौं रुपैयाँ बाहिरिएको आशंका साथै बैंकिङ प्रणालीमा तरलता कम भएका समाचारहरु आएका कारण सेयरबजारमा करेक्सन आएको सेयरबजारका जानकार बताउँछन् ।

सरकारले जेठमा स्थानीय तहको निर्वाचन गर्ने तयारी गरिरहेकोले पनि बजार केही दिन नाफा बुक गर्न अलिकति करेक्सन भए पनि भावि दिनमा बढ्ने नै देखिएको उनिहरुको भनाई छ ।

आज नेप्से परिसूचक ४०.५७ अंकले घटेर २८३६.१७ अंकमा झरेकोे छ भने सेन्सेटिभ परिसूचक भने ७.७३ अंकले बढेर ५३१.९२ अंकमा पुगेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहको सेयर घटेको छ । यस दिन सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स समूह घटेको छ ।

आज पनि अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ५४ करोड ४९ लाख ९३ हजार २ सय ८३ रूपैयाँ बराबरको कारोबार भएको हो ।

आइतबार नेपाल हाइड्रो डेभलपर्स कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ८.०८ प्रतिशतले बढेको छ ।

त्यस्तै केही दिनदेखि लगातार सर्किट लागेको विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा आज नकारात्मक सर्किट लागेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।

कूल २२८ वटा कम्पनीको एक करोड ६ लाख ५१ हजार ७ सय ५४ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार ५ सय १० रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !