४ आश्विन २०८१, शुक्रबार

मल उत्पादन गर्न सस्तोमा विद्युत् उपलब्ध गराउँछौँ: ऊर्जामन्त्री भुसाल

प्रकाशित मिति :  7 February, 2022 4:43 pm


काठमाण्डौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलविद्युत्को प्रयोग गरेर रासायनिक मल कारखाना स्थापना गर्नुपर्ने बताएकी छन् । कृषि मन्त्रालयमा सोमवार भएको छलफलमा मन्त्री भुसालले दीर्घकालीन एवं राष्ट्रको हितका लागि पनि जलविद्युत्कै प्रयोगबाट सम्पूर्ण उद्योग तथा कलकारखाना सञ्चालन हुनुपर्ने बताइन् ।

“देशभित्र ऊर्जाका रुपमा जे खपत हुन्छ त्यो जलविद्युत्बाट उत्पादित ऊर्जा नै हुनुपर्छ,” उनले भनिन् । लगानी बोर्डमार्फत लगानी गर्ने उद्योगी व्यवसायीले पनि नाफासँगै देशको माया गरेर विद्युतीय ऊर्जा खपतलाई प्रोत्साहन गर्नुपर्नेमा उनको जोड थियो । मन्त्री भुसालले भनिन, “हामी देशभक्त नागरिकले राष्ट्रको हितलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ, यहीभित्र नाफा, व्यापार खोजौँ, मेरो विनम्र आग्रह छ ।”

जलविद्युत् प्रयोग गरेर मलकारखाना स्थापना गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिँदै उनले भनिन्, “हामी आवश्यकता अनुसारको विद्युत् उपलब्ध गराउन तयार छौँ, जलविद्युत् आयोजनाको सञ्चालन खर्च मात्र लिएर पनि विद्युत् दिन तयार छौँ। ऊर्जाकै कारणले महङ्गो हुने स्थिति आउँदैन त्यसका लागि ऊर्जा मन्त्रालय आश्वस्त पार्न चाहन्छ ।”

डलरमा खरिद गरेर ल्याइएको ग्यासभन्दा देशभित्र उत्पादन भएको स्वदेशमै उत्पादन भएको ऊर्जा प्रयोग गर्नुपर्नेमा जोड दिँदै उनले भनिन्, “हामीले तत्कालको लागत मात्र हिसाब गरेर ग्यासबाट उद्योग स्थापना गर्ने निर्णयमा पुग्नु अगाडि भावी पुस्ता, दिगो विकास लक्ष्य, विश्वसामु हामीले गरेका प्रतिबद्धतालाई समेत गहिरो ढङ्गले सोच्नुपर्छ।”

देशको आर्थिक विकासका लागि लगानी बोर्ड स्थापना भएको स्मरण गर्दै उनले सम्पूर्ण विश्व नै नवीकरणीय र स्वच्छ ऊर्जाको प्रयोगलाई बढाउँदै पेट्रोलियम पदार्थको कटौतीमा लागिरहेको उल्लेख गरिन्। उनले स्वच्छ ऊर्जा विद्युत्लाई बाइपास गरेर अरू देशले निरुत्साहित गरेको प्रविधिमा जान नहुने बताउँदै त्यसतर्फ लगानी बोर्ड गम्भीर हुनुपर्ने बताए

कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवले मल खादमा पनि देशलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिँदै मल अभावको राष्ट्रिय समस्यालाई हल गर्न सबैले सहयोग गर्नुपर्ने बताए । उनले विद्युत् उत्पादनबाटै मल उत्पादन भयो भने आत्मनिर्भर हुने जनाउँदै लागतको विषयमा पनि छलफल गर्नुपर्ने बताइन् । “सातवटै प्रदेशमा मल कारखाना स्थापना गर्ने गरी सोच्नुपर्छ, प्रत्येक प्रदेशमा दुई लाख मेट्रिक टन क्षमताको कारखाना स्थापना गर्नेगरी अगाडि बढ्नुपर्छ,” मन्त्री भुसालले भनिन् ।

त्यस अवसरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले खाद्य सुरक्षाका लागि पनि मल कारखाना स्थापना महत्वपूर्ण भएको र त्यसका लागि नेपालकै विद्युतीय ऊर्जा प्रयोग हुनुपर्ने बताए । “दूरगामी हिसाबले पनि जलविद्युत् नै प्रयोग गरेर मल उत्पादन गर्नुपर्छ, भविष्यका लागि पनि यो नै उपयुक्त हुन्छ,” कुलमानले भने ।

नेपालमै मल कारखाना स्थापना गर्ने विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र लगानी बोर्डसहित सरोकार पक्षको सहभागिता थियो । रासस



प्रतिक्रिया दिनुहोस !