६ आश्विन २०८१, आइतबार

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या घट्दो क्रममा

प्रकाशित मिति :  8 February, 2022 12:58 pm


काठमाडौं । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या घट्न थालेको छ । संघीय स्वास्थ्य मन्त्रालयले मङगलबार बिहान सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ६७ हजार ५९७ जना सङ्क्रमित भएका छन् ।

योसँगै भारतमा कोरोनाका कुल सङ्क्रमितको संख्या चार करोड २३ लाख ३९ हजार ६११ पुगेको छ ।

महामारीको तेस्रो चरण सुरु भएपछिको पछिल्लो एक महिनापछि दैनिक सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम भएको सोमबार दोस्रो दिन हो । कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन फैलिन थालेपछि सङ्क्रमितहरुको सङ्ख्या एकाएक बढेको थियो ।

पछिल्लो एक दिनमा भारतमा कोरोनाकै कारणले मात्रै एक हजार १८८ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना शुरु भएयता हालसम्म पाँच लाख ४ हजार ६२ जनाको मृत्यु भएको पनि समाचारमा जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !