१३ माघ २०८१, आइतबार

कांग्रेसको केन्द्रीय कार्यसम्पादन बैठक बस्दै

प्रकाशित मिति :  10 February, 2022 9:16 am


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पहिलो पटक बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा स्थानीय तह निर्वाचन केन्द्रित भएर छलफल गर्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कार्यसम्पादन समितिको बैठकको तयारीका लागि मङ्गलबार प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाबाहेक पदाधिकारीबीच पार्टी केन्द्रीय कार्यालयमा र बुधबार सभापति देउवासहित प्रधानमन्त्री निवास बालुवाटारमा सबै पदाधिकारीबीच आन्तरिक छलफल भएको थियो ।

विभिन्न मितिमा केन्द्रीय कार्यसमितिका पदावधि समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था तथा पाँच भ्रातृ एवं शुभेच्छुक संस्थाका नेतृत्व कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएकाले बैठकले त्यस सम्बन्धमा छलफल गरी आवश्यक निर्णय गर्ने, कोभिड–१९ को सङ्क्रमणका कारण अधिवेशन प्रभावित भएका कांग्रेसका १६ जिल्लाका जिल्ला कार्यसमितिका सम्बन्धमा समेत बैठकले निर्णय गर्ने बताइएको छ ।

स्थानीय तहको निर्वाचनलगायत विषयमा केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट प्राप्त सुझाव र सल्लाहका आधारमा पार्टी आगामी दिनमा सशक्तरुपमा कसरी अगाडि बढ्ने र परिचालन हुनेसम्बन्धी निर्णयमा पुगिने प्रवक्ता डा प्रकाशशरण महतले बताए ।

नेपाल सरकार, मन्त्रिपरिषद्को सोमबारको बैठकले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ । कांग्रेसले यही माघ १४ गते तत्कालका लागि ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !