फागुन १ गतेदेखि १८ वर्षमाथिका सबै नागरिकलाई बुस्टर डोज दिइने
काठमाडौं । सरकारले फागुन १ गतेदेखि १८ वर्षभन्दा माथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्ध बुस्टर डोज खोप दिने भएको छ ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कोभिडविरुद्धको पूर्ण मात्रा खोप लगाएका १८ वर्षभन्दा माथिका सबै नागरिकलाई बुस्टर डोज दिइने बताए ।
कार्यकालको एक सय दिन पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले भने, ‘पूर्ण मात्रा खोप लगाएका १८ वर्ष माथिका सबै नागरिकलाई अब फागुन १ गतेबाट बुस्टर डोज दिइने छ। पूर्ण खोप लगाएर ६ महिना पूरा भएकाले खोप केन्द्रमा गएर बुस्टर डोज लगाउन सक्नेछन्।’
कार्यक्रममा मन्त्री खतिवडाले १२ वर्षदेखि माथिका सबै नेपालीलाई आगामी वैशाख मसान्तसम्म खोप लगाइसक्ने जानकारी दिए ।
यसअघि १८ वर्षमाथिका नागरिकलाई चैत मसान्तभित्र खोप लगाइसक्ने लक्ष्य रहे पनि १२ वर्षमाथिका बालबालिकाका लागि पनि खोप आएकाले समय लम्ब्याइएको मन्त्री खतिवडाले बताए ।
हालसम्म १२ बर्ष भन्दामाथिको लक्षित जनसंख्याको ७७ प्रतिशतले पहिलो मात्रा र ६९ प्रतिशतले पूर्ण खोप पाइसकेको उनले जानकारी दिए ।