पोर्चुगलमा ज्यान गुमाएकाको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण
काठमाडौं । स्याङ्जा सहयोग समाज पोर्चुगलको अभियान तथा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति र युरोप क्षेत्रको पहलमा वैदेशिक रोजगारीको शिलशिलामा पोर्चुगलमा ज्यान गुमाएकाको परिवारलाई आर्थिक सहयोग गरेको छ ।
भीरकोट ५ सिम्लेका अंकितसिंह ठकुरीको परिवारलाई आज घरमै पुगेर रु ९ लाख ८० हजार हस्तान्तरण गरेको भिरकोट नगरपालिका वडा नं. ५ का अध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिए। स्याङ्जा सहयोग समाज पोर्चुगलका अध्यक्ष अर्जुन अर्याल लगायतको सक्रियता तथा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति युरोप क्षेत्रको पहलमा उक्त रकम सङ्कलन गरी हस्तान्तरण गरेको उनले बताए ।
सङ्कलित रकम भीरकोट नगर प्रमुख छायाराम खनालले परिवारलाई हस्तान्तरण गर्दै २८ वर्षको अल्पायुमै रोजगारीको शिलशिलामा विदेशी भूमिका ज्यान गुमाएकोप्रति दुःख ब्यक्त गरेका थिए ।
रकम हस्तान्तरण कार्यक्रममा भीरकोट नगर उपप्रमुख सीमा केसी कर्माचार्य, भीरकोट ५ का वडा अध्यक्ष यामप्रसाद अधिकारी , वालिङ उद्योग वाणिज्य संघका महासचिव केशरबहादुर खाँण लगायतले दिवंगत आत्माको चिरशान्तिको कामना तथा शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेका थिए ।
ठकुरीको गएको माघ १६ गते २८ वर्षको उमेरमा अकस्मात ढलेर निधन भएको थियो ।