एकैदिन प्रतितोला १२०० रुपैयाँले बढ्यो सुनको मूल्य
प्रकाशित मिति : 15 February, 2022 12:39 pm
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार २००ले बढेर रु ९६ हजार ७०० पुगेको छ । फागुन महिनाको पहिलो दिन आइतबार प्रतितोला रु ९५ हजार ५०० मा कारोबार भएको पहेँलो धातुको मूल्य सोमबार स्थिर रही सोही मूल्यमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार २०० कायम भएको छ । जसको मूल्य सोमबार प्रतितोला रु ९५ हजार तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले बढेर रु एक हजार ३२० पुगेको महासङ्घले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८७८ डलर आसपास कारोबार भइरहेको छ ।