४ आश्विन २०८१, शुक्रबार

किसानलाई गोबर खरिदमा अनुदान

प्रकाशित मिति :  20 February, 2022 12:24 pm


चितवन । चितवनको रत्ननगर नगरपालिकाले किसानलाई गोबर मल खरिदमा ५० प्रतिशत अनुदान दिएको छ । प्राङ्गारिक खेतीप्रति किसानलाई जागरुक बढाउन नगरपालिकाले अनुदान दिन सुरु गरेको हो । मलमा अनुदान दिन नगरपालिकाले रु ५० लाख विनियोजन गरेको छ ।

नगर क्षेत्रमा एक टेलर मलको रु तीन हजारदेखि रु तीन हजार ५०० सम्म पर्ने गरेको छ । नगरपालिकाले एक टेलर मल खरिदमा रु एक हजार ५०० उपलब्ध गराउने भएको छ । एक बिघा जग्गा क्षेत्रफल हुने किसानले चार टेलरको अनुदान पाउने छन् । एक बिघा जग्गाका लागि गोबर मल खरिद गर्न किसानले रु छ हजार अनुदान रकम पाउने नगरप्रमुख नारायण वनले बताए

नगरपालिकामा सूचीकृत भएका पशुपालन फार्मबाट किसानले गोबर मल खरिद गर्नुपर्ने छ । त्यसका लागि अहिलेसम्म १० वटा पशुपालन फार्म सूचीकृत भएका छन् । वनले रासायनिक मलको प्रयोग घटाउन गोबर मल खरिदमा अनुदान दिएको बताए । “हामीले किसानलाई अनुदानमा गाई दिएका छौँ, पशुपालनलाई कृषिसँग जोडेर उत्पादन बढाउने हाम्रो लक्ष्य हो,” उनले भने । अन्नबालीमा रासायनिक मलको प्रयोगका कारण प्राणघातक रोगको शिकार हुनुपरेको भन्दै अग्र्यानिक उत्पादन गरेर स्वास्थ्य सुरक्षा गर्ने अर्को उद्देश्य रहेको उनको भनाइ छ ।

नगर उपप्रमुख विमला दुवाडीले बाली लगाउने बेला हुने मलको हाहाकारबाट किसानलाई मुक्ति दिलाउन गोबर मलमा अनुदान दिएको जानकारी दिइन् । “एकातिर गोबर नबिक्ने, अर्कातर्फ खेती गर्ने किसानले मल नपाउने समस्या छ, यसले समस्या समाधान हुन्छ,” उनले भनिन । नगरपालिकाले कृषि क्षेत्रका विविध शीर्षकमा अनुदान दिँदै आएको छ । यसअघि गाई खरिद, दूध, मेसेरेनरी, सिँचाइलगायतमा अनुदान दिँदै आएको छ । रासस



प्रतिक्रिया दिनुहोस !