१४ माघ २०८१, सोमबार

सदन भित्र एमसीसी टेबल हुँदा बाहिर गोली चल्यो

प्रकाशित मिति :  20 February, 2022 7:19 pm


काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले सदन भित्र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पेस गरिरहँदा दिनभर बानेश्वर क्षेत्रमा बढेको तनावले फायरिङ निम्त्याएको छ ।

एमसीसी टेबल हुने भनिएपछि बिहानैदेखि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको भ्रातृ संगठनसमेत गरी ै राप्रपा र अन्य साना कम्युनिस्ट घटकहरुले प्रदर्शन सुरु गरेका थिए ।

प्रदर्शनकारी र सुरक्षाकर्मीहरू बीचको तनावपूर्णस्थिति चर्किएपछि स्थिति फायरिङसम्म पुग्यो ।

कम्तीमा ५० जना पक्राउ परेका छन् । घाइते हुनेमा नेपाली प्रहरीतर्फ मात्रै १७ जना घाइते भएका छन् । सशस्त्र प्रहरीतर्फपनि ७ जना घाइते भएका छन् । सशस्त्र प्रहरीका घाइते ३ जनाको बलम्बुस्थित एपीएफ अस्पतालमा उपचार भइरहेको छ । बाँकी ४ जनाको संसद भवनभित्रै रहेको आपतकालीन उपचार कक्षमा उपचार भइरहेको छ ।

प्रहरीले आन्दोलनकारीतर्फ ३ जना मात्रै घाइते भएको जानकारी सार्वजनिक गरेपनि आन्दोलनकारीले दर्जनौँ घाइते भएको जनाएका छन् ।
अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, वाईसीएलका सहयोजक सुवोध श्रीपालीसहित दर्जन बढी घाइते भएका हुन् । नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले प्रहरीले ब्यापक दमन गरेको र सो क्रममा दर्जनौँ घाइते भएको बताए ।

झडपका क्रममा ५० जना आन्दोलनकारीलाई नियन्त्रणमा लिएको जनाएको छ । यस्तै भीडलाई नियन्त्रणमा लिने क्रममा ११५ जना अश्रु ग्यास प्रहार गर्नुका साथै ३० राउण्ड रबरको गोली प्रहार भएको जनाएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा एसपी सन्तोषसिंह राठौरका अनुसार प्रहरीतर्फ झडपमा १७ जना घाइते भएका छन् । यस्तै भीडलाई नियन्त्रणमा लिने क्रममा पानीको फोहोरा पनि प्रयोग भएको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !