१४ माघ २०८१, सोमबार

जबर्जजस्ती एमसीसी संसदमा पेश भएको भन्दै माओवादी केन्द्रको आपत्ति,प्रहरी दमनको विरोध

प्रकाशित मिति :  20 February, 2022 7:21 pm


काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले मिलिनियम च्यालेञ्ज कम्प्याक्ट ( एमसीसी) सम्झौता संसदमा पेश भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रवक्ता कृष्णबहादुर महराले विज्ञप्ति जारी गर्दै भनेका छन्,“प्रतिनिधि सभाको आजको बैठकमा सरकारले विवाद र विरोधका बीच मिलिनियम च्यालेञ्ज कम्प्याक्ट ( एमसीसी) सम्झौता पेस भएको घटनाप्रति हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को गम्भीर ध्यानाकर्षण भएको छ ।”

सत्तारुढ गठबन्धनमा आफ्नो पार्टीको तर्फबाट स्पष्ट रुपमा संसदमा पेस नगर्न आग्रह गर्दा पनि सरकारले जबर्जस्ती एमसीसी सम्झौता अघि बढाउन खोजेपछि प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा संसदीय दलको तर्फबाट लिखित असहमति जाहेर गरिएको समेत उनले जानकारी गराएका छन् ।

देशको स्वाधीनता र राष्ट्रियतामा नै प्रश्न उठ्न सक्ने विषयमा दलहरूबीच राष्ट्रिय सहमति नगरिकन र सत्तारुढ दलभित्रै एकरुपता नहुँदा नहुँदै जबर्जस्ती प्रतिनिधि सभामा पेस भएको प्रवक्ता महराको भनाई छ ।

प्रवक्ता महराले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“एमसीसी सम्झौता संसदमा पेस गर्नुहुन्न भन्दै सडकमा उत्रिएका विभिन्न दलसम्बद्ध नेता, कार्यकर्ता, स्वतन्त्र रुपमा आन्दोलनमा सहभागी नागरिकहरुमाथि भएको प्रहरी दमन एवं धरपकडको घोर भत्सर्ना एवं निन्दा व्यक्त गर्दछु ।”

आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण आन्दोलनकारीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरुको उपचारको उचित प्रबन्ध तथा उपचार खर्च व्यहोर्न पनि प्रवक्ता महराले सरकारसँग माग गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !