दुई वर्षपछि खुल्यो अष्ट्रेलियाको बोर्डर, यी देशले गर्दैछन् उडान
काठमाडौं । अष्ट्रेलियाले दुई वर्षपछि आफ्नो सीमा पुनः खुला गरेको छ । कोरोना संक्रमणका कारण कडा नीति अपनाएको अष्ट्रेलियाले आजदेखि (सोमबार) सीमित मुलकका नागरिकका लागि प्रवेश अनुमति दिने भएको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् ।
आजदेखि खुला हुने भएको अष्ट्रेलिया आवागमन कोभिडविरुद्धको खोप लगाइसकेका यात्रुका लागि मात्र भएको सञ्चामाध्यमहरुले जनाएका छन्। खोप लगाएको भए पनि अष्ट्रेलिया प्रवेश गरेकाले विमानस्थलमा पुनः कोभिड परीक्षण गराउनु पर्नेछ।
अब खोपको पूर्ण मात्रा लगाएका यात्रुहरू क्वारेन्टिनमा बस्नुपर्ने छैन। तर, खोप नलगाएका यात्रुहरुले आफ्नै खर्चमा १४ दिनसम्म होटेलमा बस्नुपर्ने हुन्छ ।
त्यस्तै मार्च ३ तारिखसम्म बन्द रहेको र खोपको बुस्टर मात्रा लगाएको हुनुपर्ने नियम लागू गरेको वेस्टर्न अस्ट्रेलियाबाहेक यात्रुहरु सबै राज्यमा जान पाउने बताइएको छ ।
आजदेखि क्वन्टासले लस एन्जल्स, भानकोभर, जोहानेसवर्ग, नरफल्क आइल्याण्ड, अकल्याण्ड, लण्डन लगायत सात मुलुकबीच उडान अवतरण गर्नेछ ।
एजेन्सीले तयार पारेको विवरण अनुसार अमेरिकाको डेल्टा एयरले लस एन्जल्स, सानफ्रान्सिस्को लगायत मुलुकबाट यो गन्तव्यमा उडान अवतरण गर्ने छ।
सिंगापुर एयरलाइन्सले सिड्नीमा दैनिक तीन उडान गर्ने जनाइएको छ । यसैगरी कतार, एमरेट्स, इतिहाद लगायत तीनवटा वायुसेवा कम्पनीले नियमित उडान गर्ने जनाइएको छ। यी तीन वायुसेवा कम्पनीमार्फत दोहा र आबुधाबीबाट दुईतर्फी उडान हुनेछ।
यसैगरी जापानको निपोन एयर, क्यानडाको एयर क्यानडा, पोर्टभिल्लाको एयर भनुउटु, नोमियाको एयर कालिनुस स्वाङ्की, अकल्याण्डको एयर न्युजील्याण्ड, नादीको फीजी एयरवेज, बैंककको थाइ एयरवेज लगायत वायुसेवा कम्पनीले उडान अवतरण गर्नेछन्।
त्यसैगरी सोमबारबाट मेलबोर्न र ब्रिसबेन विमानस्थलमा पनि दर्जनौं उडान हुने एजेन्सीले तयार पारेको विवरणमा उल्लेख छ ।
योसँगै सोमबार अस्ट्रेलियामा ५० भन्दा बढी अन्तर्राष्ट्रिय विमान अवतरण हुने अपेक्षा गरिएको छ ।