रुसद्वारा युक्रेनमाथि तीनतिरबाट आक्रमण
काठमाडौं । रुसले युक्रेनमाथी तीनतिरबाट आक्रमण गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
रुसले बेलारुसबाट समेत सैनिक आक्रमण सुरु गरेको युक्रेनको सीमा सुरक्षा सेवाले उल्लेख गरेको छ । बेलारुसको साथ लिएर रुसले युक्रेनलाई आक्रमण गरेको छ । स्थानीय समेत अनुसार बिहान ५ बजेदेखि रुसले आक्रमण सुरु गरेको थियो । रुसले सीमा क्षेत्र तथा क्रिमियाबाट समेत आक्रमण गरेको छ ।
रुसले पूर्ण क्षमतामा आक्रमण सुरु गरेको युक्रेनको दाबी छ । रुसी राष्ट्रपति भ्यादिमिर पुटिनको आदेशसँगै युक्रेनमाथी आक्रमण सुरु भएको हो । रुसले युक्रेनको राजधानी किएभ लगायत विभिन्न मुख्य शहरमा विष्फोटको आवाज सुनिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
आक्रमणपछि राजधानी किएभका मानिसहरुको भागदौड देखिएको छ । उनीहरु राजधानीबाट बाहिर निस्कन हतार देखिएका थिए । युक्रेनका विदेशमन्त्रीले दिमित्रो कुलेबाले रुसले पूर्ण रुपमा आक्रमण सुरु गरेको भन्दै यसको प्रतिबाद गर्ने समय आएको बताएका छन् । उनले ट्विीट गर्दै भनेका छन्,“ युक्रेनले आफ्नो पूर्ण बचाउ गर्ने छ र जित्ने छ, विश्व पुटिनलाई रोक्ने छ र अब कारबाहीको समय आएको छ ।”
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले देशमा मार्शल लको घोषणा गरेका छन् । गृह मन्त्रालयका अनुसार राजधानीमा रहेको सैन्य डिपो र एयरफिल्डमा मिसाइल प्रहार भएको छ । किएभमा बोरिस्पिल अन्तरराष्ट्रिय विमानस्थल र शहरका अन्य ठाउँहरूमा विस्फोटको आवाज सुनिएको सञ्चार माध्यमले जनाएका छन् । नागरिक विमानका लागि भने देशको हवाई क्षेत्र बन्द गरिएको छ ।
युक्रेनले रुसका पाँच विमान र हेलिकप्टर खसालेको दाबी गरेको छ । युक्रेनी सेनाले देशको पूर्वमा विद्रोही नियन्त्रित एन्क्लेभ नजिक पाँचवटा रुसी विमान र एउटा हेलिकप्टर खसालेको दावी गरेको हो । “संयुक्त सेना कमाण्डका अनुसार आज फेब्रुअरी २४ गते संयुक्त सेनाको अपरेशनको क्षेत्रमा आक्रमणकारीका पाँचवटा विमान र एउटा हेलिकप्टर खसालिएको छ,” युक्रेनको सेनाले भनेको छ ।