एमसीसी संसदमा छलफल हुँदै बाहिर भने प्रदर्शन जारी
काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसी विरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन जारी रहेको छ । सत्ता गठबन्धनमा रहेका दलहरू नेकपा माओवादी र एकीकृत समाजवादीनिकट भ्रातृ संगठनलगायतले बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।
फागुन ८ गते नै संसदमा पेश भएको एमसीसी आजको बैठकमा छलफल हुँदैछ । यता संसद भवन बाहिर भने सत्ता गठबन्धनकै दलहरुका भातृ संगठनले एमसीसीको विरोधमा प्रर्दशन गरिहेका छन् ।
प्रदर्शनकारीको समूह संसद भवन घेराउ गर्न अगाडि बढ्ने प्रयास गरिरहेका छन् भने प्रहरीले नयाँ बानेश्वर क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाएको छ ।
संसद भवन वरपर जनपथ र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति छ भने बानेश्वर क्षेत्रमा प्रहरीले सडक खाली गराएर ब्यारिकेड राखेको छ ।
सशस्त्र प्रहरीलाई पनि ‘स्ट्याण्ड बाई’ राखिएको छ । पानीको फोहोरा हान्ने तीन वटा गाडीलाई पनि बानेश्वरमा राखिएको छ ।
आन्दोलनका कारण काठमाडौं उपत्यकाको भद्रकाली, माइतीघर, बानेश्वर, तीनकुने हुँदै गुड्ने सवारी साधन डाइभर्ट गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।