३ आश्विन २०८१, बिहिबार

संसद्को आजको बैठकमा एमसीसीमाथि छलफल हुने

प्रकाशित मिति :  25 February, 2022 11:13 am


काठमाडौं । प्रतिनिधिसभाको आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुनेछ । संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसीमाथि सामान्य छलफल होस् भन्ने प्रस्ताव पेश गर्ने उल्लेख छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकका लागि निर्धारण गरिएको कार्यसूची नै आजका लागि पनि राखिएको हो । बिहीबारको बैठक विशेष कारणले बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ अनुसार सूचना टाँस गरी आज दिउँसो १ बजेसम्मका लागि स्थगन गरिएको थियो ।

आजको बैठकको सम्भावित कार्यसूचीको अर्को बुँदामा प्रधानमन्त्री शेरबहादुर देउवाले महान्याधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/७८ पेश गर्ने कार्यक्रम राखिएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठकअघि कार्यव्यवस्था तथा परामर्श समितिको बैठक राखेका छन् । संसद् सचिवालयका अनुसार एमसिसी प्रस्ताव सैद्धान्तिक छलफलका लागि पेश भएपछि बोल्न चाहने सांसदले छलफलमा भाग लिनेछन् । सरकारले यही फागुन ८ गते आइतबार एमसीसी सदनमा टेबल गरेको थियो । (रासस)



प्रतिक्रिया दिनुहोस !