८ मंसिर २०८१, शनिबार

रूपन्देहीकाे सैनामैना बन्यो पूर्ण खोप सुनिश्चित नगरपालिका

प्रकाशित मिति :  28 February, 2022 6:24 pm


बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ । नगरपालिकामा १२ वर्षमाथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको दुबै मात्रा खोप लगाएकाे नगरपालिकाले जनाएकाे छ।

नगरपालिकामा मा खोप लगाउन योग्य ७१ हजार ५१०  जनसंख्याको १०५ प्रतिशत नागरिकले कोरोना विरुद्दको पूर्ण मात्रा खोप लगाएको नगरपालिकाले जानकारी गराएकाे छ । कामदारका रुपमा नगरभन्दा बाहिरबाट आएका मानिसहरुले पनि सैनामैनामा सञ्चालन भएको खोप केन्द्रमा खोप लगाउने पाउने व्यवस्थाका कारण नगरभित्र खोप लगाउन योग्य जनसंख्याले भन्दा बढीले खोप लगाएको नगरपालिकाले जानकारी दियाे ।

जिल्ला खोप समन्वय समितिले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगरको प्रमाणपत्र उपलब्ध गराएकाे हाे । सोमबार नगरपालिकामा आयोजित एक समारोहकाबीच राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले जिल्ला खोप समन्वय समिति रुपन्देहीले प्रदान गरेको प्रमाणपत्र नगरप्रमुख चित्रबहादुर कार्कीलाई हस्तान्तरण गरेका छन्।

“खोप अभियान सुरु भएपछि सुरुका दिनदेखि नै कोरोना विरुद्धकाे खोप कार्यक्रमलाई तिव्रताका साथ अगाडी बढाएका थियौँ,” नगरप्रमुख चित्रबहादुर कार्कीले भने, “आएको खोपलाई सात वटा खोप केन्द्रबाट कोप वितरण कार्य अगाडी बढाएर करिब १ वर्षको समयमा सम्पूर्ण नगरवासीलाई खोप लगाउन सफल भयौँ।”

१२ देखि १८ वर्ष सम्मका बालवालिकाको हकमा विद्यालय र वृद्ध तथा अशक्तका लागि घरमै स्वास्थ्यकर्मी परिचालन गराएर खोप लगाउने कार्य सफलताका साथ सम्पन्न भएको कार्कीले बताए । नगरको टोलटोलमा स्वास्थ्य स्वयंमसेविका मार्फत नगरपालिमा खोप लगाउन छुटेका नागरिकको पहिचान गरेर सबै नागरिकलाई पूर्ण मात्राको खोप लगाइएको नगरप्रमुख कार्कीले जानकारी दिए ।

“खोप अभियान सम्पन्न भएपछि नगरपालिकाले आफ्नै खर्चमा खोप लगाउन छुटेका नागरिकको सर्वेक्षण गर्दा तीन हजार ९१३ जना छुटेको पाइएपछि उनीहरुलाई खोप दिएका थियौँ,” कार्कीले भने, “पछि स्वास्थ्य कार्यालय रुपन्देही, विश्व स्वास्थ्य संगठनलगायतका संस्थाले तीन वटा वडाका १८० घरमा नमुना सर्वेक्षण गर्दा ९५ प्रतिशत भन्दा धेरै नागरिकले पूर्ण खोप लगाएको पाइएपछि जिल्लाबाटै आएको टोलिले पूर्ण खोप सुनिश्चितता नगरपालिका सिफारिस गर्नुभएको थियो ।”



प्रतिक्रिया दिनुहोस !