१६ माघ २०८१, बुधबार

एमसीसी व्याख्यात्मक घोषणाको कुनै अर्थ छैन,अब कार्यान्वयन गराैं : एमाले

प्रकाशित मिति :  1 March, 2022 2:16 pm


काठमाडौं । नेकपा एमालेले एमसीसीका विषयमा गरिएको व्याख्यात्मक घोषणाको कुनै अर्थ नभएको बताएको छ ।

आज पत्रकार सम्मेलन गरेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीसँगै पारित गरिएको व्याख्यात्मक घोषणालाई तथाकथित भन्दै यसको कुनै अर्थ नभएको बताएका हुन् ।

अध्यक्ष ओलीको तर्फबाट सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ,“ दुई सरकारबीच भएको सम्झौता, सहमतिको झण्डै आधा दशकदेखि एकतर्फी व्याख्याद्वारा संसोधन हुन्छ भन्नु जनतालाई ढाँट्ने दुष्प्रयास हो र यो हास्यास्पद कुरा हो ।”

व्याख्यात्मक घोषणा शाकाहारीले ‘किताबको माछा पो खान हुन्न, खोलाको त भइहाल्छ नि’ भने जस्तै भएको एमालेको टिप्पणी छ । अझै पनि केही नेताहरू व्याख्यात्मक घोषणा हिजाे आफूले गलत थियो भनिएको एमसीसीलाई दुरुस्त पार्ने भ्याक्सिनका रुपमा प्रचारमा लागेको एमालेको आरोप छ ।

विज्ञप्तिमा भनिएको छ,“ यो जनतालाई दिग्भ्रमित पार्ने अर्को चालबाजी हो । हामी केही नेताहरूका‘ लत्रिएका जुँगालाई ठाडो पार्ने हतियार’का रुपमा संसदीय अभ्यासलाई विकृत पार्दै दुरुपयोग गरिएकोमा दुखिन छौं ।”

एमालेले एमसीसी परियोजनासम्बन्धी सम्झौता संसदबाट अनुमोदन भइसकेको भन्दै अब राष्ट्रको हित प्रतिकुलन नहुने गरी यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ । एमालेले भनेको छ,“ पारित भइसकेको परियोजनाका बारेमा राष्ट्रको जनमतलाई थप विभाजित गर्नु हानिकारक हुन्छ ।”



प्रतिक्रिया दिनुहोस !