स्याङ्जाको वालिङमा डिजिटल माटो परिक्षण मिनिल्याब सञ्चालनमा
स्याङ्जा । स्याङ्जाको वालिङमा नगरपालिकाले डिजिटल माटो परीक्षण मिनिल्याब स्थापना गरेको छ ।
सोमबारदेखि सञ्चालनमा आएको प्रयोगशालाबाट निःशुल्क रुपमा किसानले ल्याएको माटोको नमूना परीक्षण गरिदिने व्यवस्था मिलाइएको छ । यससँगै माटो परीक्षणका लागि पोखरा लगायतका ठाउँमा रहेका प्रयोगशालामा लैजनुपर्ने बाध्यता हटेको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।
उनले भने,“माटोमा रहेको उर्वराशक्तिमा कमी आउन नदिने र उर्वराशक्तिलाई जोगाई राख्न प्रयोगशालाले महत्वपूर्ण भूमिका खेल्ने र पछिल्लो समय माटोमा विभिन्न किसिमका रासायनिक मल तथा विषादीको प्रयोग गर्ने क्रम बढेको छ र जथाभावी रासायनिक मल तथा विषादीको प्रयोगका कारण माटो बिग्रिन गई उत्पादन घट्दै गएकाले माटोको उपचार तथा संरक्षणका लागि आधुनिक प्रविधिको प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याइएको हो ।”
नगरपालिकाले प्रयोगशालामा प्रयोग हुने औजार, उपकरण तथा रसायन खरिद गरेर ल्याएको र उक्त सेवाबाट वालिङका किसानहरु खुसी रहेको नगरप्रमुख खाँडले बताए ।