स्याङ्जा भीरकोटमा कांग्रेसबाट मेयरका अकांक्षीलाई जथाभाबी उमेद्वारी दाबी गर्न रोक
रवि थापा ।
काठमाडाैं । स्याङ्जाको भीरकोट नगरपालिकामा नेपाली कांग्रेसले पार्टीबाट मेयरको उमेद्वारीमा जथाभाबी दाबी नगर्न सचेत गराएको छ ।
गतहप्ता बसेको नगर कमिटी बैठकले उमेद्वारीबारे जथाभावी नबोल्न सचेत गराएको हो । भीरकोट नगरपालिकामा कांग्रेसबाट मेयरको उमेद्वारका लागि छायाराम खनाल, दिपेन्द्र केसी ,लक्ष्मण अधिकारी, तोयनाथ अर्याल, पीताम्बर श्रेष्ठ, र गोविन्द कर्मचार्यले दाबी सुरु गरेका थिए ।
सबै आकांक्षीले आफूले परिकल्पना गरेको नगर बनाउने र पार्टीले आफूलाई अबसर दिने दाबी गरेका थिए । विभिन्न अकांक्षीहरूले सार्वजनिक रुपमै उमेद्वारको दाबी सुरु गरेपछि नगर कमिटी बैठकले नबोल्न सचेत गराएको हो ।
मेयरका उमेद्वारको आकांक्षी रहेका दिपेन्द्र केसीले बैठकमा सबैले सार्वजनिक रुपमा उमेद्वारी दाबी गर्न नहुने विषय उठेको बताए ।
उनले भने,“नगरसभापति सहितको एक बैठकमा नगरको निर्वाचनको विषयलाई लिएर पार्टी भित्र मेयरको दाबीमा धेरै हल्ला नफैँलाउने निर्णय भएको छ ।”
उनले थप भने,“कांग्रेसबाट एक जनाले मात्र टिकट पाउँछ र यो कसलाई दिन्छ त्यो पार्टीले निर्णय गरेर दिन्छ । त्यसैले अहिले नै दाबी गरेर जनतालाई भ्रममा नपार्न नगरको पार्टीको बैठकले निर्णय गरेको छ ।”