आँधीखोला गाउँपालिकामा कालोपत्रे सडकको उद्घाटन कार्यक्रम सम्पन्र
स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नम्बर ३ स्थित फुलबारी पुवाडाडा कालोपत्रे सडकको उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलद्वारा एक कार्यक्रमका बीच निर्माण सम्पन्न कालोपत्रे सडकको उद्घाटन गरिएको हो ।
सडक निर्माणका लागि रु ४ करोड ९९ लाख ९८ हजारको लागत अनुमान गरी टेन्डर गरिएकोमा ठेक्का घटेर रु ४ करोड ३१ लाखमा श्री गिता । श्री क्रियटिभ जे। भी स्याङ्जाले सडक निर्माण कार्यको जिम्मा पाएको थियो । ठेक्का सम्झौता अनुसार पक्की नाली, ट्राफिक चिन्ह र रोड पेन्टिङ सहित २७ कि मी सडक पिच गरिएको गाउँपालिकाले जनाएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले गाउँपालिका केन्द्र देखि सबै वडा कार्यालयसम्म पुग्ने मोटरबाटो कालोपत्रे गर्ने नितीअनुसार वडा नं ३ को वडा कार्यालयसम्म पुग्ने सडक निर्माण गरिएको बताएका थिए ।
त्यसैगरि आँधीखोला गाउँपालिकाका वडा नं ३ का वडाध्यक्ष विष्णु बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको शिलान्यास कार्यक्रमको सञ्चालन वडा नं ३ का वडा सचिव बालकृष्ण पौडेलले गरेका थिए ।