एमसीसीबारे केन्द्रीय समिति बैठकमा पूर्वसभामुख महरासहित तीन जनाकाे लिखित फरक मत
काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसीका विषयमा नेकपा माओवादी केन्द्रमा पूर्वसभामुख कृष्णबहादुर महरासहित तीन जनाले फरक मत राखेका छन् ।
आजदेखि काठमाडौंमा सुरु भएको केन्द्रीय समिति बैठकमा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महरासहित देव गुरुङ्ग र लिलामणि पोखेरले लिखित फरक मत बुझाएको जानकारी दिए । तीनै जनाले सार्वजनिक रुपमा पनि एमसीसीबारे आलोचना गर्दै आएका थिए ।
केन्द्रीय सदस्य जयपुरी घर्तीले केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले तीनै जनाबाट फरक मत आएको जानकारी गराएको बताईन । घर्तीले भनिन्,“ अध्यक्ष कमरेडले लिखित रुपमा फरक मत आएको जानकारी गराउनुभएको छ, बाँकी छलफल होला ।”
एमसीसी संसदबाट पारित भएपछि नेकपा माओवादी केन्द्रभित्र विवाद चर्किएको छ । नारायणकाजी श्रेष्ठले सार्वजनिक रुपमै विरोध गरिसकेका छन् ।
तीनै जनाले एमसीसी अनुमोदन गर्नुअघि बसेको पूर्व स्थायी कमिटी सदस्यको बैठकमा पनि एमसीसी व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णयमा असहमति जनाएका थिए ।