नेष्डो समृद्ध लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुहोस नतिजा
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । मंगलबार जमल स्थित होटल एल्लो प्यागोडामा संस्थाको आइपीओ बाँडफाँड सम्पन्न भएको आइपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।
उक्त आइपीओमा माग भन्दा धेरै आवेदन परेको हुनाले गोलाप्रथाद्धारा बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।
क्यापिटलका अनुसार यो आईपीओमा कुल २५ लाख २७ हजार १०१ आवेदकबाट २ करोड ८७ लाख ८१ हजार ५ सय २० कित्ताको लागि आवेदन परेको थियो। तीमध्ये ४ हजार ११६ जनाको आवेदन रद्द भएका छन् भने २५ लाख २२ हजार ९५५ आवदेकको आवेदनमात्र सदर भएको छ । गोला प्रथा गर्दा ७७ हजार ४ सय ५६ जनाले १० कित्ताको दरले सेयर पाएका छन्।
दोस्रो चरणको गोलाप्रथाबाट १० कित्ता सेयर पाएकामध्ये ३ जनाले थप १–१ कित्ताको दरले सेयर पाएका छन्।
संस्थाले गत फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म ८ करोड २८ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको थियो।
संस्थाले कुल कित्तामध्ये ०.५ प्रतिशतले हुन आउने १२ हजार ७५० कित्ता कर्मचारीका लागि छुट्याएको थियो भने ५ प्रतिशतले हुन आउने ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको थियो। बाँकी ७ लाख ७४ हजार ५६३ कित्तामा सर्वसाधारणले आवेदन दिने व्यवस्था गरिएको थियो।
यसरी सजिलै हेर्नुहोस् नतिजा
आईपीओ बाँडफाँडको काम सम्पन्न भईसकेको भएपनि डाटा अपलोड गर्न केही समय लाग्ने भएकाले आईपीओको नतिजा हेर्न भने केही समय कुर्नुपर्ने हुन्छ ।
रिजल्ट सार्वजनिक भएपछि कम्पनीको आईपीओको नजिता ४ तरिकाबाट हेर्न सकिन्छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको (https://iporesult.cdsc.com.np/) नामक वेभसाइटबाट, निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडको वेभसाइट https://www.globalimecapital.com/ नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको वेभसाइट https://slbs.nesdonepal.org/ र मेरो सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ ।