चे ग्वेभाराको गोली हानेर हत्या गर्ने बोलिभियाका पूर्व सैनिकको निधन
काठमाडौं । कम्युनिष्ट आन्दोलनका नायक मानिने चे ग्वेभाराको गोली हानेर हत्या गर्ने बोलिभियाका पूर्व सैनिकको मृत्यु भएको छ । उनको ८० वर्षको उमेरमा निधन भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
मारियो टेरान सालान्जार नामका ती सैनिकले ग्वेभारालाई आफूले गोली हानेर हत्या गरेको बताएका थिए । ग्वेभाराको १९६७ अक्टोबर ९ मा बोलिभियामा गोली हानेर हत्या गरिएका थियो ।
५४ वर्षपहिले बोलिभियाको जंगल क्षेत्रमा ग्वेभारालाई पक्राउ गर्न सहयोग गर्ने एक पूर्व सैनिक गेरी प्राडोले मारियोको बिहीबार निधन भएको जानकारी गराएको समाचार संस्था एफपीले जनाएको छ ।
मारियोको अन्य कुनै कारणले नभइ बिरामी भएर निधन भएको समाचारमा उल्लेख छ । ग्वेभारालाई ८ अक्टोबर १९६७ मा अमेरिकी जासुसी संस्था सीआइएको सहयोगमा बोलिभियाको सेनाले पक्राउ गरको थियो ।
क्युबामा क्रान्ति सम्पन्न भएपछि बोलिभियामा पनि क्रान्ति गर्ने भन्दै ग्वेभारा सक्रिय भएका थिए । क्युबामा उद्योग मन्त्री समेत भएका ग्वेभारा पछि बोलिभियन क्रान्तिमा सक्रिय भएका थिए । किसानको सुराकीका आधारमा ग्वेभारा पक्राउ परेका थिए ।