८ मंसिर २०८१, शनिबार

नेपाल भ्रमणमा साउदी राजकुमार, राष्ट्रपति र प्रधानमन्त्रीसँग बेग्लाबेग्लै भेटघाट हुने

प्रकाशित मिति :  15 March, 2022 12:04 am


काठमाडौं । साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुईदिने औपचारिक भ्रमणमा नेपाल आएका छन्।

निजी विमान चढेर श्रीलङ्काबाट आएका विदेशमन्त्री साउदलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि साउदी अरबका राजदूत मुसैद सुलेमान एम अल मरवानी, परराष्ट्र मन्त्रालय र यहाँस्थित साउदी अरबको दूतावासका उच्च अधिकारीहरूले स्वागत गरेका थिए।

भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

भोलि परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्ना साउदी समकक्षीसँग भेटवार्ता गर्ने छन् । भेटवार्तापछि दुवै देशका परराष्टमन्त्रीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । उक्त सम्झौतापछि नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्य गर्न बाटो खुल्नेछ ।

साउदी अरब नेपाली श्रमिकका निम्ति प्रमुख गन्तव्य देश हो । करिब चार लाख नेपालीले उक्त मुलुकमा रोजगारी पाएका छन् । साउदी अरब अधिराज्यका विदेशमन्त्रीले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा मन्त्री खड्काले दिवाभोज आयोजना गर्ने छन् ।

भोलि अपराह्न उनको टोली स्वदेश फर्कने कार्यक्रम छ । रासस



प्रतिक्रिया दिनुहोस !