९ मंसिर २०८१, आइतबार

विश्वनिकेतन मा विले हीरक जयन्ती मनायो

प्रकाशित मिति :  16 March, 2022 12:04 pm



काठमाडौ । राणाकालदेखि नै शिक्षा दिंदै आएको विश्वनिकेतन माध्यमिक विद्यालयले हीरक जयन्ती मनाएको छ । काठमाडौं त्रिपुरेश्वरमा रहेको विश्व निकेतन माध्यमिक विद्यालय वि.सं. २००३ सालमा स्थापना भएको थियो । सामुदायिक तर्फ यो विद्यालय सामुदायिक नेपालकै उत्कृष्टमा पर्दछ ।

हीरक जयन्ती समारोहमा प्रमुख अतिथि रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षक, अभिवाक र सरकारको संयुक्त पहलमा मात्र सामुदायिक विद्यालयको गुणस्तर सुधार्न सकिने बताए ।

उनले भने,“सरकारले सामुदायिक विद्यालयहरुको भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर र शिक्षा सम्वन्धी कानूनी सुधारमा केन्द्रित भै शिक्षा क्षेत्रको सुधारका लागि ५५ बुँदे कार्यक्रम अगाडि ल्याइएको छ ।”

सार्वजनिक विद्यालयको सुधारका लागि सरकार कटिवद्द रहेको वताउँदै मन्त्री पौडेलले आगामी तीन वर्षभित्र देशभरका सार्वजनिक विद्यालयहरुलाई भौतिक सुविधा सम्पन्न बनाउने तर्फ सरकार अगाडि बढेको बताए ।

गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा विश्व निकेतन माध्यमिक विद्यालयको योगदानको प्रशंसा गर्दै उनले विद्यालयसँग आगामि दिनमा पनि निरन्तर सम्पर्कमा रहेर गुणस्तरीय शिक्षाका लागि अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

काठमाडांै महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले विद्यालयको भौतिक पूर्वाधारको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

विद्यालयका प्राचार्य हेरम्बराज कंडेलले विद्यालयको भौतिक पूर्वाधारको विकासका लागि सरकारको तर्फबाट थप सहयोगको अपेक्षा गरेका थिए ।

हीरक महोत्सवकै अवसरमा विद्यालयमा ‘पद्य ज्योती तथा मिरा ज्योती’ नामक अक्षयकोषको स्थापना गरिएको छ । वार्षिक रुपमा उत्कृष्ट शिक्षक विद्यार्थीलाई पुरस्कृत गर्ने उद्देश्यले १० लाख रुपैँयाको अक्षयकोषको स्थापना गरेको सौरभ ज्योतीले घोषणा गरेका गरेका छन् ।

आफ्ना बुबाआमाको नाममा हीरक महोत्सवका अवसरमा ज्योतीले सार्वजनिक रुपमा अक्षयकोष स्थापना गरिएको घोषणा गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !