श्रीलंकामा कागज अभावले परीक्षा रद्द, लाखौँ विद्यार्थीको भविष्य अन्धकारमा
काठमाडौं । कागज अभावमा श्रीलंकाले विद्यालयका लाखौँ विद्यार्थीहरूका लागि तोकिएको परीक्षा रद्द गरेको छ । रकम अभावले छाप्ने कागजको आयात रोकिएपछि सरकारले पूर्वनिर्धारित परीक्षाहरु रद्द गरेको अधिकारीहरुले जनाएका छन् ।
सोमबारदेखि एक सातासम्म चल्ने आवधिक परीक्षा (टर्म टेस्ट)कागज अभावले अनिश्चितकालका लागि स्थगित गरिएको उनीहरुले बताएका छन् । श्रीलंकाले सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेपछि कै ठूलो आर्थिक संकट सामना गरिरहेको छ ।
‘प्रिन्टरहरूले आवश्यक कागज र मसी आयात गर्न नसक्ने भएकाले विद्यालयका प्रधानाध्यापकहरूले परीक्षा लिन सक्दैनन्’, पश्चिम प्रान्तको शिक्षा विभागले भन्यो ।
यस कदमले प्रभावकारी रूपमा देशका ४५ लाख विद्यार्थीहरूमध्ये दुई तिहाइ विद्यार्थीको परीक्षाहरू प्रभावित भएका छन् । टर्म टेस्ट वर्षको अन्त्यमा विद्यार्थीहरूलाई अर्को कक्षामा पास हुन्छ वा हुँदैन भनेर निर्णय गर्ने मूल्यांकन प्रक्रियाको अंश हो ।
अत्यावश्यक आयातका लागि विदेशी मुद्रा सञ्चितिको अभावले ल्याएको कमजोर आर्थिक संकटका कारण देशमा खाद्यान्न, इन्धन र औषधिको अभाव देखिएको छ । एजेन्सी