स्थानीय निर्वाचनको सुरक्षाको लागि म्यादी प्रहरीमा भर्ना खुल्यो
काठमाडौं । सरकारले स्थानीय निर्वाचनको सुरक्षाको लागि म्यादी प्रहरीमा भर्ना खुलाएको छ । यही वैशाख ३० गते देशभर एकै चरणमा हुन लागेको स्थानीय निर्वाचनको लागि सरकारले म्यादी प्रहरीमा भर्ना खुलाएको हो ।
म्यादी प्रहरीमा काठमाडौं उपत्यकाका महानगरीय प्रहरी परिसर र उपत्यका बाहिर जिल्ला प्रहरी कार्यालय आज देखि आवेदन दिन सकिने प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।
१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेकाले म्यादी प्रहरीमा आवेदन दिन सक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीमा गत साउन १ गतेदेखि विभिन्न पदमा भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तिर्णले पनि भर्ना हुन प्राथमिकता पाउनेछन् । उनीहरूले प्रवेश पत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ ।
तीनवटै सुरक्षा निकायका अवकाशप्राप्त कर्मचारी, विदेशी मित्र राष्ट्रका सुरक्षा निकायमा काम गरेर अवकाश पाएकाहरूलाई म्यादीमा प्राथमिकता दिइएको छ ।
म्यादी प्रहरीको लागि चैत १५ गतेदेखि छनोट प्रारम्भ हुने, चैत २२ गतेसम्म छनोट सम्पन्न गर्ने र चैत २८ गतेदेखि प्रशिक्षण सुरु गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ ।
म्यादी प्रहरी ४० दिनका लागि नियुक्त गरिने र उनीहरूले तलवबापत एकमुष्ट ३० हजार २ सय ४० रुपैयाँ, खाद्यान्नबापत ७ हजार २ सय, पोसाकबापत ६ हजार र यातायात खर्चबापत एक हजार गरी करिब ४४ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
स्थानीय निर्वाचन वैशाख ३० गते देशभर एकै चरणमा हुँदैछ ।