नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो
काठमाडौं । सेयरबजारमा आज पनि गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन नेप्से दोहोरो अंकले घटेको छ भने कारोबार रकम पनि खुम्चिएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक परिसूचक १४.६७ अंकले घटेर २६१६.५८ अंकमा झरेको छ । त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ३.०१ अंकले घटेर ४९४.३८ अंकमा झरेको छ ।
आज नेप्सेमा कारोबार भएका १३ उपसमुहमध्ये इन्भेष्टमेन्ट उपसमुह बाहेक सबै उसमुहहरु राताम्ये बनेका छन् ।
आइतबार नेप्सेमा कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीको १६ करोड २९ लाख ४९ हजार ६ सय ३० रुपैयाँको कारोबार भएको छ ।
आज नेप्सेमा राष्ट उत्थान लघुवित्त संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।
त्यस्तै आजको दिन मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ३.७६ प्रतिशतले घटेको छ ।
कुल २२४ कम्पनीको ४२ लाख ८७ हजार ५ सय ६९ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २७ करोड ४६ लाख २६ हजार १ सय ९० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।