अवस्था तनावग्रस्त बनेपछि मोरङको लेटाङमा निषेधाज्ञा
मोरङ । जिल्ला प्रशासन कार्यालय मोरङले तनावग्रस्त बनेको लेटाङमा निषेधाज्ञा जारी गरेको छ । अर्को सूचना जारी नभएसम्म आज बिहान ७ बजेदेखि निषेधाज्ञा जारी गरिएको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार लेटाङ नगरपालिकाको वडा नम्बर ३ र ४ को गङ्गेचोक र कमलपुर क्षेत्र, वडा नम्बर ५ को सबै क्षेत्र, उत्तरमा वडा नम्बर ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङ्गे खोला क्षेत्र तथा पश्चिममा चिसाङ खोला क्षेत्रमा निषेधाज्ञा लगाइएको छ । लेटाङ–५ स्थित खरुवामा आइतबार साँझ भएको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएपछि सो क्षेत्रमा तनाब उत्पन्न भएको छ ।
लेटाङ नगरपालिका–५ खेरुवास्थित शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले विद्यालयमा अध्ययनरत छात्रालाई दुव्र्यवहार गरेको घटना सार्वजनिक भएपछि उनलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रोशित भीडले आक्रमण गरेको थियो ।
आक्रमणबाट गम्भिर घाइते प्रहरी जवान श्रेष्ठको मृत्यु भएपछि लेटाङमा निषेधाज्ञा जारी गरिएको हो । रासस