४ आश्विन २०८१, शुक्रबार

कृषि मन्त्री यादवको आरोप,‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सन्तोषजनक काम गरेन’

प्रकाशित मिति :  23 March, 2022 4:58 pm



काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादवले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कामप्रति असन्तुष्टि जनाएका छन् ।

नेपाल हर्टिकल्चर सोसाइटीले आजदेखि सुरु गरेको १३ औं बागवानी गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री यादवले प्रधानमन्त्रीको नामबाट सञ्चालनमा आएको प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले किसानको लागि के कति काम गरेको समिक्षा हुनुपर्ने बताए ।

उनले भने,“प्रधानमन्त्री आधुनिकीकरण परियोजनासँग प्रधानमन्त्रीको नाम जोडिएको छ, त्यसबाट जनताले कति फाइदा लिए, किसानले कति फाइदा लिए त्यसको बारेमा पनि समिक्षा हुनुपर्छ ।”

परियोजनाले सोचेजस्तो प्रगति गर्न नसकेको बताउँदै उनले प्रधानमन्त्रीको नाममा खोलिएको परियोजना भएको हुनाले त्यसको प्रतिष्ठाको पनि ख्याल गर्नुपर्ने बताए । उनले एक अर्को प्रसङ्गमा विदेश जाने युवालाई कृषिप्रति आकर्षित गर्नका लागि बाँझो जमिनलाई प्रयोगमा ल्याउनुपर्ने कुरामा जोड दिए । देशमा थुप्रै बाँझो जमिन छन् तर त्यसलाई कसरी प्रयोगमा ल्याउने त्यसको बारेमा सोच्नुपर्ने बताउँदै उनले जोसँग जमिन छैन, त्यसलाई बाँझो जमिन दिएर कृषिप्रति आकर्षित गर्नुपर्ने बताए ।

बागवानी क्षेत्रको विकासमार्फत बाँझो जग्गाको उपयोग प्रवर्धन गर्न सरोकारवालाहरुलाई सुझाव प्रदान गर्ने उद्देश्यले यो गोष्ठीको आयोजना गरिएको सोसाइटीका अध्यक्ष इन्द्रराज पाण्डेले बताए । यो गोष्ठीपछि कोभिड १९ (कोरोना) ले जनजीविकामा पारेको असरबाट मुक्ति पाउन बागवानी क्षेत्रले खाद्य तथा पोषण सुरक्षा र आय आर्जनमा खेल्न सक्ने भूमिकाको विश्लेषण गरी सरकारलाई सुधारात्मक सुझाव समेत दिने उनकाे भनाइ थियाे ।

बागवानी बालीहरुको दिगो विकासकोलागि केन्द्र, प्रदेश र स्थानिय तहमा संचालन भइरहेको बागवानी सम्बन्धि कार्यक्रमलाई अझ बढी सुदृढ रुपमा सञ्चालन गर्न श्रोत केन्द्रहरुको विकास र अवलम्वन गर्नु पर्ने नीति सिफारिस गर्नुको साथै आयात प्रतिस्थापन र निर्यात प्रबर्धनको लागि बागवानी बालिहरुको बीउ बिरुवा र मूख्य उत्पादनको गुणस्तर नियमन र व्यवसाय प्रवर्धन गर्न नेपाल सरकारलाई नीतिगत सुझाव पनि दिइने उनले बताए ।



प्रतिक्रिया दिनुहोस !